माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) मा आवद्ध लमजुङका नेता कार्यकर्ताले पार्टी छाडेको घोषणा गरेका छन् । उनीहरुले लमजुङका ५ सय जनाले नेकपा एस छाडेको घोषणा गरेका हुन् ।
नेकपा एसका पूर्व केन्द्रीय सदस्य डा. बालकृष्ण बराल नेतृत्वमा जम्मा भएका नेता कार्यकर्ताले बेंसीशहरमा सोमबार पत्रकार भेटघाटको आयोजना गरी पार्टी परित्यागको घोषणा गरेका हुन् ।
नेकपा कालमा हुँदा नै करिब ३ वर्षअघि छुट्टिएपछि अदालतको आदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र आ–आफ्नै पार्टी भएको थियो । त्यही बेला केही छुट्टिएका केही नेताहरुले माधवकुमार नेपाल नेतृत्वमा नेकपा एस गठन गरेका थिए ।
एमालेभित्र विधि र पद्धति नभएको भन्दै विद्रोहको दावी गरेको उक्त पार्टीमा पनि विधि र पद्धति झनै नदेखिएको भन्दै नेकपा एसका नेताकार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका हुन् । ‘एमालेलाई दक्षिणपन्थी बाटोमा लागेको आरोप लगाइयो तर, एस पनि दक्षिणपन्थी राजनीतिक यात्रामा एमाले भन्दा कम देखिएन’ उनीहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेकपा एसमा प्रारम्भ देखिनै गुटबन्दीको रोग लागेको उनीहरुले बताएका छन् । नेतृत्वमा रहेका धेरै व्यक्तिमा दम्भ देखिएको र पार्टी नै सिद्धान्तमा चल्न नसकेपछि गुटबन्दीले थिलो थिलो बन्दै गएको उनीहरुले बताएका छन् । संगठनहरु विभिन्न अवरोधका कारणले निष्क्रिय रहे पनि नेतृत्वलाई यसले नछोएको र पार्टीमा सम्वद्ध हजारौं कार्यकर्ताहरु एमालेमै फर्किएको उनीहरुले बताएका छन् ।
नेकपा एसले अहिले महाधिवेशन पनि सम्पन्न गरेको र महाधिवेशन अत्यन्त गैह्रजनवादी, गैह्रप्रजातान्त्रिक बनेको उनीहरुको भनाइ छ । ‘नेतृत्वमा रहेका नेताहरुले आ–आफ्नो खल्तीबाट केन्द्रिय कमिटीका सदस्य, पोलिटब्युरो र स्थायी समितीका सदस्यहरु झिकेर सपथ खुवाउने काम गरे । कार्यकर्ता छान्ने काम निश्चित नेताहरु जो गुटबन्दीको खेलमा लागेका छन् उनीहरुले गरे । विचार, सिद्धान्त, विधि, पद्धद्धिको धज्जी उडाइयो’ विज्ञप्तिमा भनिएको छ ।
लमजुङमा पार्टी निर्माणको प्रारम्भ देखिनै समस्या पैदा भएको र समाधानको लागि शीर्ष नेतृत्वसंग लामो समयसम्म समाधानको याचना गरिए पनि केही नगरेको साथै जिल्लाका धेरै कार्यकर्तालाई पार्टी कमिटीमा बसेर काम गर्न नसकिने स्थितिमा पुराएको उनीहरुले बताएका छन् । ‘कार्यकर्ता सबै तितरवितर भए । अहिले नेकपा एस शरीरविनाको टाउकोमात्र भएको पार्टी बनेको छ । हामीलाइ यो विजोग हेरेर बस्नभन्दा अलग भएर बस्न वेश भन्ने कुराले निरन्तर निर्देशित गरिरह्यो । फलस्वरुप हामीले आज २०८१ साल भाद्र ३१ गते देखि नै नेकपा एसमा नरहने गरी पार्टी परित्याग ग¥यौं ।’
उनीहरुले पार्टी परित्याग गरेको कारण निम्नअनुसार उल्लेख गरेका छन् ।
१, विधि पद्धति नभएको भन्दै एमालेबाट विद्रोह गरियो तर नेकपा एसमा आएर विधि पद्धतिको झनै खडेरी लाग्यो ।
२, नेतृत्वमा पार्टी संगठनप्रतिको कुनै सम्वेदना देखिएन, केवल गुट स्वार्थ मात्र देखियो ।
३, एमालेलाइ दक्षिणपन्थी भनियो तर यहाँ झनै बढी दक्षिणपन्थ विकास भएको पाइयो ।
४ सम्भवत गुटबन्दि अन्य पार्टीमा भन्दा नेकपा एसमा बढी देखियो ।
पत्रकार भेटघाटमा पार्टी परित्यागको घोषणा गरी वितरण गरिएका नामावलीः
डा. बालकृष्ण बराल–निवर्तमान केन्द्रीय सदस्य, नेकपा एस
लिलाधर सापकोटाः सदस्य, केन्द्रीय सल्लाहकार परिषद्
सुरेश गिरीः सदस्य, गण्डकी प्रदेश कमिटी
वेनबहादुर सुयलः सदस्य, गण्डकी प्रदेश कमिटी
सूर्यबहादुर कुँवरः सदस्य, गण्डकी प्रदेश कमिटी
अमृत गिरीः सदस्य, गण्डकी प्रदेश कमिटी
सन्तुमाया विक खत्रीः उपाध्यक्ष, जिल्ला कमिटी लमजुङ
हरिनिधि तिवारीः उपसचिव–जिल्ला कमिटी लमजुङ
कृष्णबहादुर केसीः सदस्य–जिल्ला कमिटी लमजुङ
महेन्द्रबहादुर थापाः सदस्य–जिल्ला कमिटी लमजुङ
मातृका अधिकारीः सदस्य–जिल्ला कमिटी लमजुङ
वासुदेव न्यौपानेः सदस्य–जिल्ला कमिटी लमजुङ
राम तामाङः सदस्य–जिल्ला कमिटी लमजुङ
विरबहादुर अधिकारीः सदस्य–जिल्ला कमिटी लमजुङ
हरिबहादुर कुँवरः सदस्य–जिल्ला कमिटी लमजुङ
विष्णु विष्टः सदस्य–जिल्ला कमिटी लमजुङ
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१ १८:४३