राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान लमजुङको २३ औँ वार्षिक साधारण सभा श्र्रष्टा सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम भदौ ८ गते शनिबार बेंसीशहरमा सम्पन्न भएको छ ।
यस वर्ष राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानअन्तर्गतका लमजुङसहित देशभरका शाखाको शनिवार एकै दिन साधारण सभाको आयोजना गरिएको हो ।
प्रतिष्ठान लमजुङका अध्यक्ष अनुज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा लमजुङ जिल्लाका २ जना अग्रज श्रष्टा, कार्यसमितिका उत्कृष्ट सदस्य र गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्यहरुलाई सम्मान गरिएको छ ।
प्रतिष्ठान लमजुङले यस वर्ष सुन्दरबजार नगरपालिका ११ सिन्दुरे निवासी अग्रज श्रष्टा ठाडोभाका गायिका नन्दमाया दुरा र बेसीशहर नगरपालिका ५ निवासी अग्रज श्रष्टा रोशन गुरुङलाई सम्मान गरेको छ । यसैगरी लमजुङ जिल्लाबाट गण्डकी प्रज्ञा प्रतिष्ठानमा प्रतिनिधित्व गर्नुहुने प्राज्ञ सदस्यहरु क्व्होलोँथार–२ मालिङका गजेन्द्र गुरुङ, क्व्होलासोँथार ८ घाम्राङका केयरसिंह गुरुङ र मध्यनेपाल ८ डडुवाका राजबहादुर गुरुङलाई सम्मान गरेको छ ।
प्रतिष्ठान लमजुङले कार्यसमितिबाट दुई जनालाई उत्कृष्ट सदस्यको रुपमा सम्मान गरेको छ । कार्यसमिति सदस्य चित्र दुरा र किशोर बिकलाई उत्कृष्ट वर्ष सदस्यको उपाधिसहित सम्मान गरिएको प्रतिष्ठान लमजुङका सचिव प्रशान्त तामाङले बताउनुभयो । सम्मानित श्रष्टाहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङ, प्रतिष्ठान लमजुङका अध्यक्ष अनुज अधिकारी, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले संयुक्त रुपमा दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा बेसीशहरका विभिन्न आमा समूह र विद्यालयबाट नृत्य प्रस्तुत गरिएको थियो । प्रगतीटोल तमु समाज बेसीशहर, शान्तिटोल तमु समाज बेसीशहर, मनाङेचौतारा तमु सामाज बेसीशहर, शेरा टोल तमु समाज बेसीशहर, तमु कल्याण समाज बेसीशहर, नेपाल तामाङ महिला घेदुङ बेसीशहर इकाइ र यूनीभर्सल एकेडेमीको तर्फबाट नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा सम्मानति व्यक्तित्व नन्दमाया दुरा र प्रतिष्ठान लमजुङका कार्यसमिति सदस्य नवीन बरालले ठाडोभाका प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गण्डकी प्रदेश समिति महिला उपाध्यक्ष मञ्जु विक, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, प्रहरी नायब उपरीक्षक मिनबहादुर घले, जिल्ला अनुसन्धान प्रमुख विष्णुहरि पण्डित, क्व्होलासोथार गाउँपालिका निवर्तमान अध्यक्ष प्रेमबहादुर घले, प्रतिष्ठान गण्डकीका सदस्य टसबहादुर गुरुङ, अग्रज लोक गायिका माया गुरुङ, प्रतिष्ठान लमजुङका संस्थापक अध्यक्ष खेम गुरुङ, पूर्व अध्यक्ष दिपक पौडेल, संस्थापक सचिव बुद्धिबहादुर खड्का, दोर्दी ९ का अध्यक्ष आशिष तामाङ, क्व्होलासोँथार ३ का अध्यक्ष आसवीर गुरुङ, तमु ह्युला छोंज धि बेसीशहर इकाइका अध्यक्ष क्याप्टेन मिल बहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा लोकप्रिय कलाकार पूजा परियार शेर्पा, विवेक धिताल, देउकुमारी गुरुङ, राजबहादुर गुरुङ, मञ्जु विक, संगिता गुरुङलगायतले सांगीतिक कोसेली प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सञ्चालन सचिव प्रशान्त तामाङले गर्नुभएको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१ १७:५३