आमाको काखबाट छुट्टिएर काठमाडौं हुइँकिदा राजु परियारलाई लाग्थ्यो, ‘शहरमा केही न केही गरेर खान्छु ।’ बाटोभरी मनमा अनेकन कुरा खेल्दै उनी काठमाडौं ओर्लिए । सोंचे, ‘यत्रो ठूलो शहरमा कहाँ जाऔं ?’
काठमाडौं खाल्डो छिचोल्दै उनी सुन्धारा पुगे । काम खोज्न थाले । उनलाई लागेको थियो, ‘हातमा जे आउँछ, त्यही काम गर्छु ।’ एक किसिमले उनी अलमलमा परे ।
शहरको कोलाहल, भविश्य खोज्न हिँडेका १७–१८ वर्षे केटोलाई आमाको धेरै याद आयो । एकमनले भन्यो गाउँ फर्किऊँ । अर्को मनले भन्यो, शहरमै संघर्ष गर । दोधारैमा उनी काम खोज्न थाले ।
सुन्धाराका गल्लीमा हिँडिरहँदा उनको ध्यान कतै बजिरहेको मादलले तान्यो । मादलको ताल र सुनिरहेको भाकाले उनलाई एकैपटक गाउँघरको सम्झना दिलायो । पुकार दोहोरी साँझमा बजिरहेको मादलसंगै उनलाई भाका हाल्न मन लाग्यो । ग्राहक बनेर उनी दोहोरी छिरे । ग्राहकै बनेर गीत गाउन थाले । उनको आवाज सुनेर दोहोरी सञ्चालकले दोहोरीमै बसेर गीत गाउन आग्रह गरे । उनले स्वीकारे । त्यहाँ करिब ३ वर्ष गाएपछि उनी ठमेलको दोभान दोहोरीमा आवद्ध भए । त्यसपछि उनी निखारिए ।
सशस्त्र द्धन्द्धका कारण गाउँमा मानिसहरु त्रसित थिए । २०५६ सालको एक बिहान लमजुङको बेंसीशहर नगरपालिका २, चिसापानी घरबाट निस्कँदा आमा सन्तमाया (नागरिकतामा सन्सरी दमै) लाई लाग्यो, ‘छोराले कुनै होटलमा भए पनि काम पाए हुन्थ्यो, बरु भाँडा नै माझुन् ।’ काठमाडौं पुगेनपुगेको पत्तो भएन । गाउँघरमा कामको चटारो थियो । बेंसीशहर–डुम्रेको बाटो भर्खरै कालोपत्र भएको थियो । राजुले काठमाडौंको दोहोरी साँझमा काम पाएको खबर आमालाई पठाए ।
राजुले खालीखुट्टा हिँडेका बाटाहरुमा अहिले गाडीका टायरको डोब छ । खेले हुर्केका साथीसंगीहरु लाहुर गएर पेन्सन खाइसके । वल्लोगाउँ–पल्लोगाउँका कतिपय बेलायत–अमेरिका छन् । त्यतैतिर पुग्दा भेट हुन्छन् । ‘समाज परिवर्तनशील छ । हिजोको जस्तो व्यवहार अहिले छैन । सवैले माया गर्छन्’ उनी भन्छन् ।
उनलाई हुर्काउन आमाले धेरै संघर्ष गरेकी छन् । गाउँघरमा व्यप्त छुवाछुत र गरिबीको रेखामुनी उनलाई हुर्काउन आमाले दिनदिनै आँसु चुवाएका छन् । उनी सकेसम्म आमाको आँखाबाट आँसु नखसोस् भन्ने चाहन्छन् । ‘आमाको काखमा मैले आमाको आँसु पिएको छु । आमाको संघर्षलाई मैले मेरो मुटुमा राखेको छु । आमाले जन्म नदिएको भए आज राजु परियार यो ठाउँमा हुने थिएन । म जन्मिएँ, हुर्किएँ, आज यो ठाउँमा आएँ, सवै आमाको कारण हो, आमाको देन हो’ उनी भन्छन् । उनी बेला–बेला बेंसीशहर बस्दै आएकी आमालाई भेट्न पुग्छन् ।
माया र पिरतीका भाकामार्फत समाजमा व्यप्त छुवाछुतको आवाजलाई बुलन्द पार्नु उनको खुबी हो । गाउँघरको भाकालाई टपक्कै टिपेर उनले लोकमालामा उनेका छन् । सरस्वतीको बास बसेको उनको आवाजमा एउटा जादू छ । त्यही जादूले उनलाई विश्वमाझ चिनाएको छ । उनलाई लोकभाकाको पर्याय बनाएको छ । लोक भाका संरक्षणको अभियान्त बनाएको छ । साढे २ दशकको सांगीतिक यात्रामा १७ हजार हाराहारी गीतमा आवाज दिएका उनी लोक भाकाको संरक्षणमा जुटेका छन् । पछिल्लो समय उनले गायिका मञ्जु विकसंगै लमजुङे ठाडोभाका रेकर्ड गरेका छन् ।
उनका धेरै कालजायी गीतहरु छन् । युट्युबमा राजु परियार खोज्नेवित्तिकै उनका टठ्यौली दोहोरीदेखि गाउँघरका भाकाहरुको सिरियल सुरु हुन्छ । उनका प्रायः गीतहरु सवै ब्रान्डेड छन् । साना उमेदेखि पाका उमेरको जिब्रोमा झुण्डिने गीत उनका दर्पण हुन् । ‘मेरो गीतमा कतिपय मेरै पीडा छ, कतिपय समाजको पीडा छ । जे जस्तो भए पनि गीत समाजको ऐना हो’ उनी भन्छन् । समाज परिवर्तन सवै मिलेर गर्नुपर्ने उनी बताउँछन् ।
उनीसंग गाउँघरमा रेडियोसंगै गीत गाएको, ब्रतबन्ध तथा विवाहमा पुगेर भजन चुड्का गाएकोदेखि रोधीघर पुगेर मायापिरतीका गीत गाएको सम्झना ताजै छ । साँझदेखि घन्किने रोधीका भाकाहरु उनका लागि प्रेरणाका स्रोत र पाठाशाला हुन् । आमाले गाएका रत्यौली गीतहरु उनले टपक्कै टिपे । मेलापातको भाका उनका लागि संगीतका घर हुन् । औपचारिक रुपमा संगीत सिकेका छैनन् । संगीतका सुर र ताल उनी अरुलाई सिकाउँछन् ।
राजु एकताका हराए । उनका गीतहरु बज्न छाडे । कतिले राजु अब लोकसंगीतको क्षेत्रमा नफर्किने भन्दै हल्ला चलाए । उनी गुमनाम बने । साथीसंगी, परिवार, आफन्त, स्रोतादर्शकमाझ उनी आउन छाडे । कहाँ गए राजु ? भनी शुभचिन्तकहरुबाट खोजी भयो । केही समय पारिवारिक समस्याका कारण पनि उनी विछिप्त थिए । उनी ‘कूलत’ फसेको आँकलन र हल्ला बजारमा पिटियो । यसलाई चिर्न उनी बाहिर निस्किए । अहिले भने उनी नयाँ जोश र जाँगरका साथ सांगीतिक धरातलमा दौडिएका छन् । राजु परियार अब्बल भएर निस्किएका छन् ।
कुनै समय यस्तो थियो कि, उनका तस्बिर टाँसेर अरुले एल्बम ल्याउँथे । उनको तस्बिर टाँसिदिएपछि एल्बम विक्थ्यो । धेरै कलाकारले आफू चर्चामा आउन राजुसंगै तस्बिर टाँसेर एल्बम बजारमा ल्याए । एकदिनमा १३ वटासम्म गीत गाउन भ्याउने तिनै राजु परियार हुन्, जस्ले अग्रजदेखि अनुजसंग गीत गाएका छन्, देशविदेशमा हुने प्रायः सवै कार्यक्रममा उनी पुगेका छन् ।
२०३७ असार १५ गते जन्मिएका राजु करिब २ वर्षको हुँदा बुवा मंगलसिंह घरछाडी चितवन हिँडेका थिए । गरिबीसँगै दलित हुनुको पीडा उनका आमाले भोगेका छन् । बाल्यकालमा अरुको दुःख र पीडा बुझ्न नसक्ने बेलाबाट नै उनले आफैं धेरै पीडा भोगेका छन् । आमाले उनीपछि एकजना भाइ पूर्णराजलाई जन्म दिइन् । ‘एकातिर बुवा हिँड्नु र अर्कोतिर २ लालाबालालाई हुर्काउनु आमाले कम संघर्ष गरिनन्’ राजु सम्झन्छन् । आमाले साहुको घरमा गएर आँसु झारेर धानमकै मागेर ल्याउँथिन् । ‘जति झर्नु थियो आमाको आँसु झरिसक्यो । अब नझरोस् भन्ने हो’ उनले भने । अरुका बुवाले आफ्ना बालबच्चालाई सुम्सुम्याउँदा उनले बुवालाई धेरै सम्झिए । राजु ५ वर्षको छँदा बुवा एकपटक घर आए पनि त्यसपछि आएनन् । बुवाको केही वर्षअघि निधन भइसकेको छ ।
स्कुलमा गीत गाउँदा उनी सधैं पहिलो नै हुन्थे । जिल्लामा भाग लिँदा प्रथम नै हुन्थे । छोराको गायकी देखेर आमा दंग पर्थिन् । राजुका आमाले आफू भोकै बसेर पनि छोरालाई खाना खुवाउँथिन् । ‘आमाले ९ महिना गर्भमा राखेर हुर्काउनुभयो । त्यो भन्दा बढी संघर्ष जन्म दिएपछि गर्नुभो । यो भारा (भाडा) कहिल्यै तिर्न सक्दिन’ राजु भन्छन् ।
हिजो गाउँले नचिनेको राजु परियारलाई आज विश्वले चिनेको छ । सरकार, विभिन्न निकाय, संघसंस्थाबाट धेरै मानसम्मान, अभिनन्दन, पुरस्कार र उपमा उनले बटुलेका छन् । पछिल्लो समय बजारमा भित्रिएको ‘भल्गर दोहोरी’ प्रति उनको चित्त कत्ति पनि बुझेको छैन । लोक दोहोरी गीत गाइरहने उनी अझै आफू लोकगायक बन्न नसकेको बताउँछन् । ‘साथीहरु आफूलाई लोकगायक भनेर परिचय दिन्छन् । लोक गीत र दोहोरी गीत खुट्याउँदैनन् । म दोहोरी गाउँछु मज्जाले । अझै मलाई लोकगायक भन्ने समय आएको छैन जस्तो लाग्छ’ उनी भन्छन् ।
उनलाई यो ठाउँमा ल्याउन उनका संघर्षहरुले साथ दिएका छन् । उनका संघर्षमा जिल्लादेखि केन्द्रसम्मका धेरै अग्रजहरुले साथ दिएका छन् । धेरै उपाधी र उपमा बटुलेका उनी लोकसंगीतका धरोहर रहेको उनका स्रोता दर्शकको बुझाई छ ।
प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१ ०७:२४