दुरा जातिमा हिजो आज पढे लेखेका मान्छेहरू धेरै देखिन्छन् । एक–दुई दशकअघि सम्म दुराहरू शिक्षाको क्षेत्रमा धेरै पछाडि थियो ।
अहिले भने पीएचडी गर्ने देखि मेडिकल डाक्टर सम्म र एरोनटिकल ईन्जिनियर देखि कलेज पढाउने प्राध्यापक (लेक्चरर) सम्म भेटिन्छन् । उच्च शिक्षा र प्राविधिक शिक्षा लिनेहरु पनि प्रशस्त भैसकेका छन् ।
तर, दुरा जातिमा सबै भन्दा पहिले लेखपढ गर्न जान्ने व्यक्ति को थिए होलान् त ? यसको यकीन तथ्य भने पाइँदैन । तर, पहिले पहिले गाउँघरमा जान्ने, सुन्ने र बुझ्ने मान्छेहरूमा जिमुवाल, मुखिया र बहिदारहरू नै हुने भएकोले सायद उनीहरू नै लेखपढ गर्न जान्ने पहिलो दुराहरू थिए होला भन्ने अनुमान लगाउन सकिन्छ ।
दुरा जातिमा लेखपढ गर्न जान्ने पुराना व्यक्तिहरु को–को थिए त ? भनी केलाउँदा ३–४ पुस्ता अगाडि ठूलोस्वाँरा गैरीगाउँका स्व.चन्द्रसिङ दुरालाई लिन सकिन्छ । उहाँलाई पढाइलेखाईका अतिरिक्त दुरा भाषाको समेत राम्रो ज्ञान थियो भनिन्छ । यस्तै, रामथुन्की तनहुँका हवल्दार पिताम्बर दुरा पनि पढ्न लेख्न र सामाजिक तथा जातीय चेतना भएको मानिस मान्न सकिन्छ । उहाँ दुराहरुको बारेमा निकै चासो र चिन्ता गर्ने व्यक्तिको रूपमा पनि चिनिनु हुन्थ्यो । दुरा जातिको बारेमा असाध्यै चिन्तन मनन् गर्नुहुने हवल्दार पिताम्बर दुराले २०३८ सालमा नै दुरा जातिको बंशावली नामको पुस्तक प्रकाशन गरी दुराहरूलाई ठूलो गुन लगाएको देखिन्छ ।
गाउँघरतिर बहिदारलाई लेखपढ गर्न जान्ने व्यक्तिको रूपमा लिइन्थ्यो । बहिदार भनेको एक किसिमको लेखान्दासको काम गर्ने पद हो । यो राणाकालीन समयमा सिर्जना गरिएको एउटा पद वा तह हो । देशको नीति, नियम र कानूनका कुराहरू जान्ने, बुझ्ने, चिठीपत्रहरू लेखपढ गर्ने व्यक्तिलाई नै बहिदार पद दिइन्थ्यो ।
अर्काेतिर राणाकालीन समयका विभिन्न शैक्षिक तहहरू मध्ये चारपासे, पाँचपासे र श्रेस्ता पास गरेका व्यक्तिहरूलाई नै सरकारी सिन्दुर पहिराई बहिदार, मुखिया र सुब्बा जस्ता नोकरी दिइन्थ्यो । थाहा पाए अनुसार दुराडाँडा मौजामा एक्लो बहिदारको रूपमा तुर्लुङकोट धकालथोकका स्व. बीरबहादुर दुरा हुनुहुन्थ्यो । गाउँ समाजमा यस्तै लेखपढको कामहरु गर्ने हुनाले उहाँलाई सबैले सम्मान स्वरुप ‘बहिदार साब’ भनेर बोलाउँथे ।
यस्तै, दुरा जातिमा लेखपढ गर्न जान्ने अन्य व्यक्तिहरूमा तत्कालीन ब्रिटिश–भारतीय सेनामा भर्ती भई पल्टनमा लेखपढ गर्न सिकेका व्यक्तिहरुलाई लिन सकिन्छ । सैनिक सेवामा लागेका क्या. बखानसिङ दुरा, लेप्टेन तुलबहादुर सिसिघाट, सुबे. मनबहादुर दुरा, सुबे. मखानसिङ दुरा, जिमु. भीमबहादुर दुरा र बीरबहादुर दुरा जस्ता पुराना व्यक्तिहरुले पल्टनमा लेखपढ गर्न सिकेको पाइन्छ ।
पल्टनमा लेखपढ गरेका केही व्यक्तिहरूले पेन्सन आएपछि गाउँघरमा रात्री स्कुल पढाएको पनि थियो । सुने अनुसार तुर्लुङ धकालथोकका स्व. सिङबहादुर दुराले गाउँमा रात्री स्कुल पढाउनु हुन्थ्यो । त्यसैले उहाँलाई सबैले धकालथोकको मास्टर माहिला भनेर चिन्दथे ।
दुरा जातिमा पढ्न लेख्न जान्ने पुराना व्यक्तिहरूमा हाल चितवन माडीका प्रेमबहादुर दुरालाई (मास्टरबाउ) लिन सकिन्छ । उहाँ पढ्न लेख्न असाध्यै मेहनति हुनुहुन्थ्यो रे । उहाँले ठूलोस्वाँरामा बसेर धेरै वर्ष पढाउनु भएको थियो भन्ने कुरा सुनिन्छ । यसका साथै तुर्लुङकोट जैथुन्काका स्वर्गीय सत्यदेवी दुराले पनि गाउँमा रात्री स्कुल पढाउनुभएको थियो । साँझमा घरबाट धिपधिपे लाल्टिन बालेर उहाँले धेरै वर्ष रात्री स्कुल पढाएर तुर्लुुङका धेरै प्रौढहरुलाई साक्षर बनाएको देखिन्छ ।
जब २००७ सालमा देशमा प्रजातन्त्र आयो त्यसपछि राणा शासनको पनि समाप्त भयो । त्यसपछि देशभर जताततै स्कुल, विद्यालय र महाविद्यालयहरू खुल्न थाले । त्यसपछि जनताको छोराछोरीहरूले लेखपढ गर्न पाए । यसैक्रममा २०१६ साल त्रिभुवन विश्वविद्यालयको समेत स्थापना भए पछि जनताका छोराछोरीहरूले देश भित्रै उच्चशिक्षा लिन समेत पाए ।
देशमा २००७ सालमा प्रजातन्त्र आएपछि मात्रै दुराहरुले स्कुल पढ्न थालेको र बिस्तारै एउटा– एउटा गरेर एसएलसी पास गर्नेहरू पनि भए । यस मध्ये सबै भन्दा पहिले एसएलसी पास गर्ने दुराको रूपमा स्व. हुतबहादुर दुरालाई लिइन्छ । उहाँसँग कुराकानी गरे अनुसार मकावनपुर जिल्लाको भीमफेदीमा अध्ययन गरी २०१५ सालमा उहाँले एसएलसी पास गर्नु भएको थियो ।
भीमफेदी राणाकालीन समयमा काठमाडौं आउजाउ गर्ने महत्वपूर्ण नाका अहिलेको भन्सार–अध्यगमन भने जस्तै ठाउँ थियो । त्यहाँ राणा प्रधानमन्त्री चन्द्र शमसेरकै पालामा बनाइएको दरबार साथै पाटीपौवा पनि रहेको छ । नेपालमा एसएलसी परीक्षाको शुरुवात वि.सं. १९९० साल देखि भएको थियो । त्यसअघि एसएलसीको जाँच दिन नेपाली विद्यार्थीहरु कलकत्ता जानु पर्दथ्यो । दुरा जातिमा सबैभन्दा पहिले एसएलसी पास गर्ने स्व. हुतबहादुर दुरा, मकैस्वाँरा लमजुङका थिए ।
समय र परिस्थितिीले गर्दा उहाँ मकावनपुरको भीमफेदी माथि पर्ने गढी (चिसापानी गढी) भन्ने ठाउँमा बसोबास गर्न पुग्नु भएको रहेछ । त्यसपछि उहाँ तत्कालीन शाही नेपाली सेनाको क्र्लकमा भर्ती भएर जम्दार पदमा पेन्सन निस्कनु भएको थियो । कविता लेख्न रुचि राख्नु हुने उहाँ निकै गहकिला शब्दहरू प्रयोग गरेर बोल्नु हुन्थ्यो ।
क्रमशः एसएलसी पास गर्ने दोस्रो, तेस्रो र अन्य दुराहरुमा क्याप्टेन हरिलाल दुरा नास्के दोस्रो हुनुहुन्छ । जहाँसम्म लाग्छ उहाँले ३० को दशक भन्दा अगाडि नै एसएलसी पास गरेको हुनुपर्छ । त्यसपछि कर्णेल गोकुलप्रसाद दुरा तुर्लुङकोट, फारमबहादुर दुरा मकैस्वाँरा र डाक्टर दुर्गाबहादुर दुरा कुन्छा, गणेशमान दुरा कानेश्वरा, दलबहादुर दुरा हाँडीखोला देखिन्छन् । यसपछि भने एसएलसी पास गर्ने दुराहरुको संख्या बढ्दै गएको देखिन्छ ।
भक्तबहादुर दुरा तुर्लुङकोट, श्रीप्रसाद दुरा ठूलोस्वाँरा हर्राबोट, मिथुन दुरा मकैस्वाँरा, प्रेमबहादुर दुरा भाँगु, केशरबहादुर दुरा ठूलोस्वाँरा, मनबहादुर दुरा मकैस्वाँरा, खड्कबहादुर दुरा ठूलोस्वाँरा, तिलबहादुर दुरा चितवन, देवीजङ दुरा, मेजर मानध्वाज दुरा, किशोर दुरा र धर्मराज दुरा खजेगाउँ, गगनसिंह दुरा नेटा र मीनबहादुर दुरा तान्द्रङ देखिन्छ ।
क्रमशः २०४६ सालको वरिपरि एसएलसी पास गर्ने र त्यस भन्दा पछि त असंख्य दुराहरूले एसएलसी पास गरेको र दुराहश्ररु शिक्षाको क्षेत्रमा अगाडि बढ्दै गरेको आभाष हुन थाल्यो । अहिले एसएलसी पास गर्ने दुराहरूको संख्या वार्षिक ५० जना भन्दा बढी नै होला । यस्तै गरि सुरजकुमार दुरा कैलाली, जगतबहादुर दुरा, ओमबहादुर दुरा कुन्छा र यमबहादुर दुरा भाँगु पनि २०४६ सालको वरिपरि एसएलसी पास गर्ने दुरारुमा पर्छन् ।
दुरा जातिमा एसएलसी पास गर्ने महिलाहरुको संख्या भने अलि कम देखिन्छ । देशमा छोरी मान्छेहरुले पढ्नु हुँदैन भन्ने सोंच व्यप्त थियो । समयकालले परिवर्तन ल्याउँदा महिलाहरुले पनि शिक्षादिक्षा लिई अगाडि बढ्न थाले । यसको प्रभाव ढिलोछिटो दुरा जातिमा पर्न थाल्यो । यसै सिलसिलामा दुरा जातिको महिलाहरुमा पहिले एसएलसी पास गर्नेमा तारा दुरा पोखरा, कृष्णकुमारी दुरा, पार्वती दुरा, टोपा दुरा तुर्लुङकोट, पुष्पा दुरा, मञ्जु दुरा पोखरा, दुर्गा दुरा ठूलोस्वाँरालगायत धेरै दुरा महिलाहरू देखिन्छन् ।
समय बित्दै जाँदा देशमा जव २०४६ सालको जनआन्दोलन भयो, त्यसपछि राजनीतिक क्रान्तिसँगै देशले शैक्षिक क्षेत्रामा पनि ठूलो फड्को मार्न पुग्यो । यसक्रममा दुरा जातिमा उच्चशिक्षा, प्राविधिक शिक्षा लिनेहरू पनि प्रशस्त हुन थाल्यो । एरोनटिकल ईन्जिनियरिङमा पीएचडी गर्दै गरेका हरि दुरा चितवन, हाल अष्ट्रेलियामा पत्रकारिताका पीएचडी स्कलर यमबहादुर दुरालगायत अन्य मास्टर डिग्री गर्ने दुराहरु अहिले प्रशस्तै छन् । प्राविधिक शिक्षा अन्तर्गत पहिलो ईन्जिनियरको रुपमा ई. प्रकाश दुरा पोखरालाई लिइन्छ । ईन्जियर पास गर्ने र पढ्नेहरु पनि अहिले दुरा जातिमा थुप्रै भैसकेको छन् ।
यस्तै, मेडिकल फिल्डमा डाक्टर हुनेहरु मास्टर इन जनरल सर्जरी (एमडी) डा. केशमाया दुरा दमौली (श्रीमान् हाँडजोर्नी विशेषज्ञ डा. ज्योति श्रेष्ठ) सहित थप अध्ययनको लागि हाल बेलायत, डा. सिजनशोभा दुरा तुर्लुङकोट नास्के, डा. किसानभक्त दुरा (तुर्लुङकोट) बेलायतमा र डाक्टर सन्जिला दुरा पनि बेलायतमा नै कार्यरत छन् । साथै अहिले एमबीबीएस डाक्टर अध्ययन गर्ने दुराहरू पनि हाम्रो समुदायमा बार्षिक एक–दुइजना थपिँदो छ । यो खुसीको कुरा हो ।
हिजोआज पढाइलेखाईमा अगाडि बढ्दै गरेका दुराहरू नर्सिङ स्वस्थ्यको क्षेत्रमा पनि धेरै अगाडि देखिन्छ । शान्तिश्री दुरा ठूलोस्वाँरा दुरा जातिमा पहिलो नर्स बन्न सफल महिला हुनुहुन्छ । हाल बेलायतमा मास्टर्स गर्दै गरेका नेटाका रमा दुराले पनि धेरै अगाडि नर्सिङ पास गर्नुभएको थियो । अहिले धेरै दुराका छोरीहरु कोही विदेशमा कोही नेपालमा नै नर्सिङ पेशामा पनि कार्यरत छन् । नर्सिङ जागिरको लागि बेलायततिर जानेहरू पनि बढिरहेका छन् । हिजोआज धेरै दुराहरु बेलायत र हङकङतिर पनि बसोबास गर्न पुगेकाले त्यहाँ पनि मास्टर्स गर्ने दुराका छोराछोरीहरु थुप्रै पुगिसकेका छन् । त्यतिमात्र नभएर हिजोआज नेपालबाट अष्ट्रेलिया, जापान, नर्वे, क्यानडालगायत देशमा उच्च शिक्षा अध्ययन गर्न जाने दुराहरु पनि भेटिन्छन् ।
अन्त्यमा नेपालको शिक्षाको सन्दर्भमा कुरा गर्दा प्रथम राणा प्रधानमन्त्री जंगबहादुरले वि.सं. १९१० मा दरबार स्कुल खोलेपछि मात्र यहाँ औपचारिक शिक्षाको शुरुवात भएको थियो । तर पछि राणाहरुले शिक्षालाई जनताहरु माझ १०४ वर्ष सम्म पुग्नै नदिई आफ्नै कब्जामा राखे । यसले गर्दा देश शिक्षाको क्षेत्रमा धेरै पछि त प¥यो नै समग्र देश नै विकासमा पछाडि धकेलियो । जव कि त्यति बेला संसारका धेरै देशहरु विज्ञान र प्रविधिको क्षेत्रमा धेरै अगाडि पुगिसकेका थिए । युरोपमा औधोगिक क्रान्तिको शुरुवात भइसकेको थियो । ठूला–ठूला विश्वविद्यालयहरु स्थापना भइ सकेका थिए । तर, नेपाल भने शिक्षाकै कारणले गर्दा जनताहरु जंगली युगमै थिए । देश शिक्षाको क्षेत्रमा पछि पर्दा त्यस देशमा बसोबास गर्ने जनताहरु पनि शिक्षामा पछाडि पर्ने भएकोले यसको प्रभाव दुरा जातिमा पनि पर्न गएको देखिन्छ । अहिले शिक्षाको क्षेत्रमा दुराहरुले गर्दै गरेको प्रगतिलाई भने सन्तोषजनक मान्नु पर्छ ।
नोटः एसएलसी पास गर्ने र पढेलेखेका पुराना दुराहरुको नाम छुट्न सक्छ । थप जानकारी यो फेसबुकमा गराउन सक्नुहुन्छ ।
फेसबुकः https://www.facebook.com/bhuwan.dura.5
प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१ १७:२३