बेलायतको अल्डर्शट क्षेत्रमा बस्दै आएका नेपालीले यसवर्षको नेपाली नयाँ वर्ष २०८२ को भव्य स्वागत गरेका छन् । ग्रेटर रश्मुर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेले एम्पायर हल अल्डरर्शटमा शनिबार साँझ विभिन्न कार्यक्रमको आयोजना गरी नेपाली नयाँ वर्ष २०८२ को भव्य स्वागत गरेका हुन् ।
उनीहरुले नयाँ वर्षको अवसरमा विभिन्न साँस्कृतिक तथा सांगीतिक कार्यक्रम, शुभकामना आदानप्रदान, नाचगान गर्नुका साथै एकआपसमा नेपाली परिकारसहित नेपाली नयाँ वर्ष मनाएका हुन् ।

सन् २००३ मा स्थापना भएको ग्रेटर रश्मुर नेपाली कम्युनिटी (जीआरएनसी) ले बेलायतको अल्डरर्शट क्षेत्र साथै मातृभूमि नेपालमा विभिन्न परोपकारी कार्य साथै नेपाली भाषा, कला र संस्कृति संरक्षण तथा संवद्र्धनका कार्यहरु गर्दै आएको छ । साथै, स्थानीय समुदायमा घुलमिलका कार्यक्रमहरु गर्दै आएको छ । यस संस्थाले हरेक नेपाली नयाँ वर्षमा नेपाली समुदाय र स्थानीयलाई निमन्त्रणा गरी शुभकामना आदानप्रदानका साथ नयाँ वर्ष मनाउँदै आएको छ ।

यसवर्षको नेपाली नयाँ वर्ष स्वागत तथा विविध कार्यक्रमको रश्मुर बरो काउन्सिलरका मेयर काउन्सिलर मारा मकुनारा, यसै क्षेत्रका सांसद एवम् संसदको नेपाल मामिला प्रमुख अलेक्स बेकर, कार्यक्रमका अध्यक्ष मान गुरुङ र संस्थापक कार्यबाहक अध्यक्ष रामचन्द्र गुरुङले बत्ति बालेर उद्घाटन गरेका थिए । कार्यक्रममा बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेका धर्म गुरुहरु खेन्पो सेनाङ, खेन्पो फुर्तेम्बा र पण्डित शिव बल्लभ रेग्मीले पूजापाठसहित आशीर्वाद प्रदान गरेका थिए ।

कार्यक्रमको पहिलो सत्रमा कार्यक्रम सञ्चालक आयोजक संस्थाका महासचिव सुनिल रानाले कार्यक्रमबारे जानकारी गराउँदै स्वास्थ्य र सुरक्षाबारे सचेत गराएका थिए । कार्यक्रममा नेपाली राष्ट्रिय गान र त्यसपछि बेलायतको राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । संस्थाका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक डा. विशाल गुरुङले स्वागत मन्तव्य राख्नुका साथै सयपत्री साँस्कृतिक समूह यूकेका कलाकारहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए । उक्त अवसरमा संस्था र संस्थाले गरेका कार्य तथा क्रियाकलापहरुबारे पावरप्वाइन्टमार्फत फोटो र भिडियोसहित जानकारी गराइएको थियो । नानीबाबुहरुलाई शिक्षक गोमा रानाबाट नेपाली भाषामा संवाद गराइएको थियो । त्यसपछि नेपाली भाषा शिक्षणका बालबालिका, नृत्य प्रशिक्षण लिएका बालबालिका, स्थानीय कलाकार, संस्थाका स्वयम्सेवकलाई रश्मुर बरो काउन्सिलरका मेयर काउन्सिलर मारा मकुनारा, यसै क्षेत्रका सांसद एवम् संसदको नेपाल मामिला प्रमुख अलेक्स बेकर र कार्यक्रमका अध्यक्ष मान गुरुङले सर्टिफिकेट प्रदान गरेका थिए ।

यस्तै, नेपालबाट आएका कलाकारहरु पवित्रा गुरुङ, अनुपा मगर, शर्मिला विसी, आरसी पौडेल, कान्तिपुर दैनिकका पत्रकार आश गुरुङलाई कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा रश्मुर बरो काउन्सिलरका मेयर काउन्सिलर मारा मकुनारा, यसै क्षेत्रका सांसद एवम् संसदको नेपाल मामिला प्रमुख अलेक्स बेकर, संस्थालाई विशेष सहयोग गर्ने व्यक्तिहरुलाईसंस्थाका अध्यक्ष मान गुरुङ र उहाँका धर्मपत्नी तारादेवी गुरुङले व्यक्तिगत तर्फबाट ढाकाटोपी तथा सल ओढाइदिएर सम्मान गरेका थिए ।
कार्यक्रममा रश्मुर बरो काउन्सिलरका मेयर काउन्सिलर मकुनारा, यसै क्षेत्रका सांसद एवम् संसदको नेपाल मामिला प्रमुख बेकर, संस्थाका संस्थापक कार्यबाहक अध्यक्ष रामचन्द्र गुरुङले शुभकामना मन्तव्य राखेका थिए । पहिलो सत्रको कार्यक्रम संस्थाका अध्यक्ष मान गुरुङको अध्यक्षतामा भएको थियो ।

दोस्रो सत्रको सांगीतिक तथा साँस्कृतिक कार्यक्रमको संयोजक पूर्वअध्यक्ष एवम् संरक्षक रोहित गुरुङको संयोजकत्वमा भएको थियो । कार्यक्रममा कलाकार टंक शेरचनले नेपाली र अंग्रेजी गीतमा बाँसुरीको धुन बजाएर मनोरञ्जन दिलाएका थिए । त्यसपछि पृष्टिना गुरुङले अंग्रेजी गीत गाएकी थिइन् । जीआरएनसीका सल्लाहकार छविमाया पुनको संयोजकत्वमा कलाकार मेरिना पाइजा र विपिना थापाले लोपुन्मुख घाँटु नृत्य प्रस्तुत गरेकी थिइन् । कलाकार रोहित गुरुङले अंग्रेजी गीत प्रस्तुत गरेका थिए । सयपत्री साँस्कृतिक समूह यूकेका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । त्यसपछि नेपालबाट आएका चर्चित अतिथि कलाकारहरुले सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रमको सञ्चालन आजीवन सदस्य कल्पना गुरुङ र पूर्व उपाध्यक्ष सुष्मा गुरुङले गरेका थिए । त्यसपछि नेपालबाट निम्त्याइएका अतिथि कलाकारहरुलाई सम्मानसहित मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा तमू धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, एनआरएन आइसीसी सदस्य दिलरास गुरुङ, बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) का अध्यक्ष आङदावा शेर्पा, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरका अध्यक्ष विक्रम भट्टराई, गोरखा आमा समूह अल्डर्शट इम्पायरका अध्यक्ष धनमाया गुरुङ, पाँचथर सेवा समाजका अध्यक्ष शान्ति लिम्बू, लमजुङ समाज यूकेका अध्यक्ष पूर्णराज गुरुङ, आयोजक संस्थाका पूर्वअध्यक्ष जीव वेल्वासे, एनआरएन युकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, गोर्खा मिडियाका प्रवन्ध निर्देशक मिलन गुरुङ लगायतको उपस्थिति थियो ।
अन्तिममा संस्थाका अध्यक्ष मान गुरुङले कार्यक्रममा उपस्थित हुने, कार्यक्रमलाई सहयोग गर्ने, कार्यक्रमका सहयोगदाता स्पोन्सरहरु, अतिथिहरु, अथिति कलाकारहरु, स्थानीय कलाकारहरु, बालकलाकार, पत्रकारहरु, साउण्ड सिष्टम प्राविधिक, मञ्च व्यवस्थापन समूहसहित विभिन्न समूह तथा व्यक्ति, इम्पायर हललगायत सम्बन्धित सवैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गरेका थिए ।
प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१ २०:०७