लमजुङको दोर्दी गाउँपालिकाले आफ्नो सेवा प्रवाह सम्वन्धी सार्वजनिक सुनुवाइ गरेको छ । गाउँपालिकाले नौथर शेरामा मंगलबार चालु आर्थिक २०८१–०८२ को अर्धवाषिक समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरेको हो ।
गाउँपालिकाले विकास निर्माणका योजना, गाउँपालिकाको सेवा प्रवाह, बजेट व्यवस्थापनसहितका विविध विषय आम नागरिकलाई जानकारी गराउने उद्देश्यले सार्वजनिक सुनुवाइ आयोजना गरेको हो ।
सार्वजनिक सुनुवाइका क्रममा गाउँपालिका अन्तरगत विभिन्न वडाका नागरिकहरुले गाउँपालिकाले गरेका काम कारवाही, सेवासम्बन्धी गुनासोसहित चालु आर्थिक वर्षका बाँकी महिना तथा आगामी आर्थिक वर्षमा गर्ने कामहरुमा सुधार गर्न सुझाव दिएका थिए ।
दोर्दी गाउँपालिकाको आयोजना तथा लमजुङ मिडिया हाउस (लमजुङखबर) को सहजीकरणमा सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमका सहभागीहरुले गाउँपालिकाले सञ्चालन गरेका विकास निर्माणका कामहरुमा प्रभावकारी गर्नुपर्ने, कर्मचारीहरुले सहज तरिकाले सेवा प्रवाह गर्नुपर्ने लगायत विषयमा सुझाव राखेका थिए । यस्तै, गाउँपालिका अन्तरगत विभिन्न सडक योजना, यातायात व्यवस्थापन, स्वास्थ्य सेवा, पूर्वाधार, स्थानीय कर, पशु सेवा, कृषि, जेष्ठ नागरिक, बालबालिका, स्वरोजगारलगायत क्षेत्र तथा विषयमा गुनासा तथा सुझाव राखेका थिए ।
कार्यक्रममा गाउँपालिकाका आर्थिक प्रशासन इकाई प्रमुख (लेखा अधिकृत) ताराचन्द्र ढकालले गाउँपालिकाको समष्टिगत आयव्याय, योजना, कार्यक्रमबारे जानकारी गराएका थिए । नागरिकबाट आएका गुनासोहरुलाई गाउँपालिका अध्यक्ष युवराज अधिकारी, उपाध्यक्ष बिच्छबहादुर घले, प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले, पशुपन्छी शाखा प्रमुख शंकर पन्थी, कृषि सेवा इकाई प्रमुख निराजन पौडेल, पूर्वाधार विकास तथा वन वातावरण व्यवस्थापन शाखा प्रमुख ईन्जिनियर सृजना पछाईलगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले दोर्दी गाउँपालिका कमिटी अध्यक्ष दिलबहादुर घले, नेपाली कांग्रेस दोर्दी गाउँपालिका कार्यसमितिका सहसचिव प्रितम अधिकारीलगायतले सुझाव दिएका थिए ।
नागरिकको जिज्ञासा सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष अधिकारीले प्रत्येक गुनासोहरुलाई गाउँपालिकाले आगामी दिनहरुमा सम्बोधन गर्दै लैजाने प्रतिवद्धता जनाए । उनले गुनासाहरु सार्वजनिक सुनुवाइमा मात्रै नभइ सिधै आफूलाई राख्न सकिने र आफू गुनासो सुन्न सदैब तयार रहेको समेत बताए ।
गाउँपालिका अध्यक्ष अधिकारीको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा उपाध्यक्ष घलेले स्वागत मन्तव्य व्यक्त गर्दै न्याययिक समितिले सम्पादन गर्दै आएका विषय, कार्यक्रम साथै अनुगमनका विषयमा जानकारी गराएका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रम लमजुङ मिडिया हाउसका तर्फबाट पत्रकार आशबहादुर गुरुङले सहजीकरण गरेका थिए ।
कार्यक्रममा वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधी, गाउँपालिका विषयगत शाखा प्रमुख तथा प्रतिनिधि, स्थानीयवासिन्दाको उपस्थिति थियो ।
प्रकाशित मिति: बुधबार, चैत २७, २०८१ ०८:२६