लमजुङे साहित्यकार श्रीकृष्ण न्यौपानेको निजात्मक महाकाव्य ‘कोरोना’ प्रकाशित भएको छ । वि.सं. २०७६ साल चैत १० गते कोरोना महामारीका कारण नेपालमा लकडाउन सुरु भएको सम्झनामा २०८१ साल चैत १० गतेकै दिन साहित्यकार न्यौपानेले आफ्नो तेस्रो महाकाव्यका रूपमा निजात्मक महाकाव्य कोरोना प्रकाशित गरेका हुन् ।
नेकपा एमालेका उपमहासचिव, लमजुङ जिल्लाबाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सदस्य, नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले उक्त महाकाव्यको लोकार्पण गरे । मन्त्री गुरुङले लोकार्पण गरेसंगै ‘कोरोना’ महाकाव्य आइतबारबाट बजारमा आएको हो ।
काठमाडौंमा लमजुङबाट निर्वाचित संविधानसभाका जमीन्द्रमान घले, लेखकका भतिज एवं सूचना तथा सञ्चार प्रविधि मन्त्रीका स्वकीय सचिव विक्रम न्यौपाने, लेखकका छोरा श्यामविक्रम न्यौपाने लगायतका सरकारका अधिकारीहरू र केही साहित्यप्रेमी व्यक्तित्वहरूको साथमा मन्त्री गुरुङले उक्त महाकाव्यको लोकार्पण गरेका हुन् ।
सो अवसरमा मन्त्री गुरुङले राष्ट्रिय एकतालाई मजबुत बनाउँदै समाजलाई सही मार्गमा हिँडाउन साहित्यको ठूलो महत्व रहने विचार व्यक्त गरे । स्वच्छन्दतावादी भावविधान र परिष्कारवादी शिल्पविधानगत विशेषता बोकेका कवि श्रीकृष्ण न्यौपानेको कवितामा छन्दको प्रयोग, शब्दको कालिगडी र भाव सिर्जनाको जादूगरी अद्भूत प्रकृतिको पाइने उनले बताए । साथै उनले कवि श्रीकृष्ण न्यौपानेबाट नेपाली साहित्यले थप महाकाव्यहरूको आशा राखेकाले कवि न्यौपानेको कलम निरन्तर चलिरहनुपर्ने शुभकामनासमेत व्यक्त गरे ।
कोभिड–१९, कोरोनाको उत्पत्ति, त्यसले संसारमा फैलाएको त्रासदिपूर्ण अवस्था, संसारको र नेपालको पहिलो विरामीको मर्म, अमेरिका, बेलायत, इटाली लगायतका पश्चिमा मुलुकहरूमा कोरोनाले मच्चाएको आतङ्क, गणतान्त्रिक मुलुक उत्तर कोरियामा परेको असर र उसले अपनाएको नीति, नेपालमा त्यसले पारेको प्रभाव हुँदै कविको परिवारमा कोरोनाले पारेको असर सम्बन्धी कथालाई १० सर्गभित्र विभिन्न २३ वटा छन्दका १०५६ वटा श्लोकमा समटेर प्रस्तुत महाकाव्य कोरोनाको रचना भएको छ ।
महाकाव्यको भूमिका नेपाली भाषाको सबैभन्दा ठूलो महाकाव्य चन्द्रयुगका लेखक चन्द्रप्रसाद न्यौपानेले लेखेका छन् । महाकाव्यलाई कवितात्मक शुभकामना वरिष्ठ छन्दगुरु प्रह्लाद पोख्रेलले लेखेका छन् । भूमिका लेख्दै कवि न्यौपानेले प्रस्तुत महाकाव्य कोरोना, कोरोनाको कारण महाकाव्यकारको परिवारमा परेको असरलाई केन्द्रीयकथ्यका रूपमा राखेर लेखिएको भएकाले यसलाई निजात्मक महाकाव्य भनिए पनि त्यो सँगसँगै आएका कोरोनाका ऐतिहासिक पृष्ठभूमि तथा विभिन्न देश र समुदायको तत्कालीन अवस्थाको चित्रणले यो काव्य सामाजिक काव्य बन्न पुगेको बताएका छन् । सो कुरालाई पुष्टि गर्न महाकाव्यका निम्म श्लोकलाई उदाहरणका रूपमा लिने सकिने उनको ठम्याइ छ ।
मान्छे गर्छ यहाँ प्रयोग जसले बुझ्दैन उम्रिन्छ के
के उम्रिन्छ र हुन्छ भिन्न नतिजा बुझ्दैन खुम्रिन्छ के
कोरोना किन उम्रियो कुदरती या यो थियो निर्मित
खै को उत्तर गर्छ आज दुनियाँ देखिन्न हाम्रो जित
शिक्षा दिन्छ बसेर आज कसले नेपथ्यमा पो छ कि
कोही मानिस नै कृतज्ञ नहुँदा झन् तथ्य बिग्रिन्छ कि
कल्चौँडातिर कागती रस मिसे के दूध पाइन्छ र
धर्ती नै सुखशान्तिको रहिदिए के स्वर्ग चाहिन्छ र ?
करिब आधा शताब्दी समयदेखि नेपाली भाषा र छन्द साहित्यको क्षेत्रमा साधनारत न्यौपानेको यो १६ औँ प्रकाशित काव्यकृति हो ।
प्रकाशित मिति: आइतबार, चैत १०, २०८१ १४:१५