रातो छानालाई छपक्कै छोप्ने गरी गाउँलाई कुहिरोको घेरोले छोपिरहँदा घलेगाउँका आमाहरु हस्याङफस्याङ घरबाट निस्कन्छन् ।
प्रायः गुन्योचोली लगाइरहने आमाहरु पछ्यौरी हातमा लिँदै, ओढ्दै सिमसिमे पानीमा वसपार्कको पर्यटन समितिको भवनमा पस्छन् । जहाँ अमेरिकन नागरिक स्याली भनेर चिनिने सराह कोनोभर आमाहरुलाई कुरिरहेकी हुन्छन् ।
आमाहरुले बोलेको गुरुङ भाषा स्यालीले बुझ्दैनन् । स्यालीले बोलेको अंग्रेजी आमाहरुले बुझ्दैनन् । बीचमा छन् पर्यटन व्यवस्थापन समितिका कर्मचारी पूजा गुरुङ । उनले दोभाषेको भूमिका खेलेका छन् । स्याली तस्बिरहरु देखाउँदै आमाहरुलाई अंग्रेजी सिकाउन थाल्छन् । आमाका कुरालाई पूजाले अंग्रेजीमा स्यालीलाई भन्छन् ।
आमाहरुमा अंग्रेजी सिक्ने मोह चर्को छ । ‘हेल्लो, वेलकम टु घलेगाउँ । गुडमर्निङ’ यतिकुरा जानिसकेको छु’ ४० वर्षिया प्रीति गुरुङले मुस्कुराउँदै भनिन् । दशकअघि प्रौढ शिक्षा पढेकी उनले अंग्रेजी अंकहरु, एबीसीडी बोलिसकेकी छन् । ‘गोराहरु (पर्यटक) आउँदा आउनु, बस्नु, स्वागत छ भन्न जानेको छु । एक वर्षसम्म धेरै सिकिएला’ उनले आशा व्यक्त गरिन् ।
घलेगाउँका आमाहरुले अंग्रेजी सिक्न थालेको ३ महिना भयो । होमस्टे सञ्चालक ५० वर्षिया फूलमाया गुरुङलाई फलफूल र तरकारीका नाम, बार, महिनाहरु अंग्रेजीमा भन्न आउने भइसकेको छ । ‘सानोमा पढिएन । प्रौढमा अलि अलि पढेको हो नेपाली । अहिले अंग्रेजी सिक्दैछु’ उनले भनिन् । उनले अंग्रेजी अंक, एबीसीडी सिकिसकेको बताइन् । ‘बाहिर देशबाट आएका पाहुनासंग अंग्रेजी बोल्नुपर्छ । अंग्रेजी सिक्न पाउँदा निकै खुसी छु’ उनले भनिन् ।
होमस्टे सञ्चालक ४२ वर्षिया चन्द्रकला घलेका अनुसार अंग्रेजीमै पर्यटकको परिचय लिन जानिसकिएको छ । ‘ह्वाट इज योअर नेम ? ह्वेर आर यु फ्रम ?, हाउ ओल्ड आर यु ? भन्ने सिकेको छु । अरु पनि के–के हो, अलि अलि सिकेको छु’ उनले भनिन् ।
कक्षा ८ सम्म पढेकी २७ वर्षिया देउमाया गुरुङका अनुसार घलेगाउँमा विदेशी पर्यटक आउने भएपछि होमस्टे सञ्चालन गर्ने आमाहरुलाई अंग्रेजी सिक्नु परेको हो । ‘विदेशी आउँछन्, उनीहरुसंग बोल्नुपर्ने हुन्छ । उनीहरुले बोलेको हामी नबुझ्ने, हामी बोलेको उनीहरुले नबुझ्ने हुँदा गाह्रो परेको थियो । अब सजिलो हुने भयो’ उनले भनिन् ।
एसएलसी पास गरेकी ३५ वर्षिया ओमकुमारी गुरुङले अंग्रेजीको पुनर्ताजगी भएको बताइन् । ‘पहिले अंग्रेजी पढेकै हो । पढ्न छोडेपछि कतिपय त विर्सिंदो रहेछ’ उनले भनिन्, ‘अहिले नयाँ कुराहरु सिक्दैछु । विदेशी पाहुनालाई फलफूलको नाम, तरकारीको नाम भन्न जानेको छु । अलि–अलि बोल्न पनि थालेको छु ।’
आमा समूहसंगै बाबाहरु पनि अंग्रेजी सिक्न मिसिएका छन् । ६२ वर्षिय यमप्रसाद घलेका अनुसार खानेकुरा, फलफूल, तरकारीका नामहरु सिकिसकेका छौं । स्वागत सत्कारले बोल्ने, स्वागत र विदाइमा बोल्ने अंग्रेजीहरु सिकेका छौं । आमाहरुको हुलमा हामी पनि आएका छौं’ उनले भने ।
दोभाषे पूजाका अनुसार आमाहरुको ५ वटा समूह बनाइएको छ । एउटा समूहमा १० देखि १२ जना सम्म छन् । उनीहरुलाई सिकाउनको लागि ३ वटा ‘लेभल’मा विभाजन गरिएको छ । लालीगुराँस, सयपत्री, सनफ्लावर, थ्रीस्टार र आमा समूहको छुट्टाछुट्टै समूह छ । यसमा उमेर समूह र यसअघि विद्यालय वा प्रौढ शिक्षा लिएका तथा नलिएका आमा समूहलाई छुट्टाछुट्टै राखिएको छ । ‘स्यालीले लेभल अनुसार छुट्टाछुट्टै पाठ्य सामग्री बनाएर पढाउनुभएको छ’ उनले भनिन् । उनका अनुसार स्यालीले उफ्री–उफ्री, बसेर, फोटोमा चित्र देखाएर, चित्र लेखेर सिकाउँदै गरेकी छन् ।
‘सवै आमाहरु अंग्रेजी बुझ्नु हुन्न, केहीलाई नेपाली समेत बुझ्न गाह्रो छ । म हरेक क्लासमा हुन्छु । नेपाली ट्रान्सलेट गरिदिन्छु । त्यतिमात्रै नभएर स्यालीलाई दिनको १ घण्टाजति नेपाली सिकाउँछु’ पूजाले भनिन् । उनका अनुसार स्यालीले केही नेपाली सिकिसकेकी छन् । ‘विशेष गरी पसलमा गएर आफूलाई आवश्यक सामग्रीहरु माग्ने र गाउँठाउँको फलफूल र तरकारीबारे सिकाएको छु’ उनले भनिन् ।
स्याली अमेरिककाको क्यालिफोर्नियाबाट पिस कर्पस नेपालको भोलेन्टियरको रुपमा नेपाल आएकी हुन् । उनीजस्तै भोलिन्टयरको रुपमा नेपालमा १० जना आएको उनी बताउँछिन् । ‘आमाहरुको उमेर समूह, उनीहरुको बोल्ने क्षमताको आधारमा ५ वटा समूह बनाएर मैले पढाउने गरेको छु’ उनले भनिन् । उनका अनुसार हरेक ५ वटा समूहको सातामा २ वटा कक्षा सञ्चालन हुन्छ । ‘गाउँलेको सहजताको लागि अंग्रेजी पढाउँदैछु । अन्तराष्ट्रिय पर्यटक घलेगाउँ आउँदा आमाहरुलाई बोल्न केही सहज होस् भनी सिकाएको छु’ उनले भनिन् । उनका अनुसार प्रयोगात्मक तवरबाट, दैनिक उपभोग्य वस्तुको नाम, गाउँ आएका पर्यटकलाई बोलाउने तरिका, घरायसी गरिने कामबारे सिकाइएको छ । ‘आमाहरुलाई अंग्रेजी नआउने, मलाई नेपाली नआउने । म बुझ्दैछु कि अंग्रेजी सिक्न कति गाह्रो हुँदो रहेछ भनेर’ उनले भनिन् ।
पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार होमस्टेमा बाहिरी पर्यटक बढी आउन थालेको र भाषाको समस्या परेपछि आमाहरुलाई अंग्रेजी सिकाउन थालिएको हो । ‘हामीले अमेरिकाको पिस कोर संस्थासंग समन्वय गरेर १ वर्षको लागि भोलिन्टयर ल्याएर आमाहरुलाई सामान्य कुरा, घरायसी कामहरु, बोलीचालीका कामहरु सिकाउन थालेका छौं’ उनले भने । पर्यटकसंग अंग्रेजीमा सामान्य रुपमा बोल्ने, सोध्ने, मन लागेका खानेकुराबारे भन्ने, फर्काउन नजाने पनि बुझ्ने समेत भएमा होमस्टे चलाउँदै आएका आमाहरुलाई सुविधा पुग्ने उनले बताए ।
समुद्री सतहदेखि २ हजार १ सय मिटर उचाइमा रहेको घलेगाउँका वासिन्दाले २०५७ देखि होमस्टे सञ्चालन गरिरहेका छन् । पछिल्लो कोभिड संक्रमण जोखिमका समयबाहेक घलेगाउँमा स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् । लमजुङ सदरमुकाम बेंसीसहरबाट २४ किलोमिटरको दुरीमा पर्ने घलेगाउ“मा ४४ घरमा होमस्टे छन् । –साभारः इकान्तिपुर
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१ १८:५८