नेवार (ज्यापू) समुदायका एकजना किसान अष्टनारान रोगले थलिन्छन् । खेताला गएबापतको ज्यालाबाट पालिँदै आएको परिवार साहुले पेस्की दिएको रकम माग्न आएपछि थप समस्यामा पर्छ ।
करिब २ महिनादेखि रोगले थलिएका अष्टनारानलाई जटिबुटीले निको हुँदैन । अष्टनारायणले मरेपछि आफ्नो किरियाका लागि भनेर २५ रुपैयाँ गाढेर राखेकोबारे परिवारलाई बताउँछ । त्यही पैसाले अभिभावकको उपचार गर्ने निर्णयमा पुग्छन् परिवार ।
जेठो छोरा शिवनारानले डाक्टर बोलाएर ल्याउँछन् । पैसाविना उपचार गर्न नमान्ने डाक्टरको नजर नेवार परिवारको कान्छी छोरी नानीथकुँमा पुग्छ । उपचार खर्च नलिने जिद्धि गरेपछि डाक्टरलाई नेवार परिवारले ५ रुपैयाँ जवर्जस्ती दिन्छन् । त्यसपछि डाक्टरले उपचार खर्च लिँदैनन् ।
उपचारकै क्रममा अष्टनारानको हुन्छ । समाजले शवलाई छिटो लैजान कर गर्छन् । शव जलाउन दाउरा किन्ने पैसा हुँदैन । घरमा भएको खाद्यान्न विक्री गरे एकातिर पाहुनालाई के दिने ? अर्कोतिर मरेको घरको मान्छे कसरी अन्न विक्री गर्न जाने ? यो अवस्थामा नेवार परिवारले डाक्टर सम्झन्छन् । उनले नेपथ्यमा सहयोग गर्छन् ।
हृदयचन्द्रसिंह प्रधानले वि.सं. २०११ सालतिर काठमाडौंको नेवार (ज्यापू) समुदायको परिवारमा घटेको घटनालाई लिएर लेखेको उपन्यास ‘एक चिहान’ लाई पोखराका नाटककार परिवर्तनले नाटकीय रुप दिएर निर्देशन गरेका हुन् । ‘एक चिहान’ बेंसीसहरको बरण्डा रेष्ट्रो एन्ड इभेन्टस्’ मा शनिबार मञ्चन भइरहँदा दर्शकका आँखा रसाइरहेका थिए । मध्यनेपाल नगरपालिका ६, भोर्लेटार घर भइ बेंसीसहर बस्दै आएकी दुर्गा खनिया लामिछानेले नाटकले मन छोएको बताइन् ।
मञ्जरी नाट्य समूह लमजुङ र पोखरा थिएटरको प्रस्तुति रहेको नाटकमा गरिबीका कारण पुरानो घर समेत मर्मत गर्न नसकेको पीडा छ । सवैजना काम गर्न जाने र कमाएको पैसाले घर मर्मत गर्ने किसान परिवारको धोको मरेको छैन । स्वाभीमानी किसान अष्टनारानको भूमिकामा रहेका जनक पराजुलीले आफ्ना परिवारका लागि केही गर्न नसकेको गुनासोले दर्शकमा थप पीडाबोध हुन्छ । ‘म खासै फिल्म हेर्दिन । नाटक झन हेरेकै छैन भन्दा पनि हुन्छ । यो नाटक हेर्दा निकै मन छोयो, मन रोयो’ मस्र्याङ्दी गाउँपालिका २ घर भइ हाल बेंसीसहर बस्दै आएका पूर्णचन्द्र घिमिरेले भने । बेला–बेलाको टट्यौलीले हलमा हाँसो फुर्दा भने मज्जैले हाँसेको उनले बताए ।
कथामा अष्टनारानको श्रीमती (लतमाया) को भूमिकामा रोशनी रामदामको अभिनय छ । किसानको जेठो छोरा शिवनारानको भूमिकामा रविन्द्र मल्ल र बुहारी उमा पुन, माइलो छोरा प्रकाश रेग्मी हमाल र श्रीमतीको भूमिकामा रुविना मगर, कान्छो छोरा मिलन श्रेष्ठ, कान्छी छोरी नानीथकुँको भूमिकामा दिप्सना विश्वकर्माको अभिनय सशक्त छ । नाटकमा डाक्टर गोदत्त प्रसादको भूमिकामा परिवर्तन स्वयम् छन् । उनका श्रीमती रञ्जनादेवीको भूमिकामा रञ्जु दाहाल छन् । सुब्बाका कारिन्दा रामबहादुरको भूमिकामा धनकाजी श्रेष्ठ छन् । काजीको भूमिकामा रमेशबाबु तिमिल्सिना छन् । गुठियारको भूमिकामा केदार बोहोरा, सञ्जोग लामिछाने, ध्रुवराम प्रधान, दुलाहको भूमिकामा आशिष परियार, तामाङ बुहारीको भूमिकामा अमृता गुरुङ, कुरा लगाउने मान्छेको भूमिकामा सुस्मिता थापा, दुलाहको साथी सुवास मालुवा, भरियाको भूमिकामा प्रदीप रोकायलगायत २० जनाको अभिनय छ ।
दुःख र संघर्षबाट अघि बढिरहेको परिवारमा धन र पदमा रहेकाहरुले प्रलोभन देखाइरहन्छन् । समाजका केही व्यक्तिको खराव नियत, ३ सन्तान भएका डाक्टरदेखि ५७ वर्षे सुब्बाले विहे गर्न चाहेको १७ वर्षिया नानीथकुँको चन्चले स्वभाव, अर्की श्रीमती भित्र्याउन खोजेपछिको महिलाका पीडा र बुझाउने उदाहरण नाटकमा कलात्मक ढंगबाट देख्न सकिन्छ । नेवार समुदायका परिवारले आफ्नो छोरीलाई अन्माएर तराइबासी ज्वाईंलाई पठाउने र घरमा तामाङ समुदायकी बुहारी भित्र्याउने कथा छोटो रुपमा छिटो–छिटो बगे पनि यसले ठूला अर्थ राख्न खोजेको देखिन्छ ।
‘किसानको पीडा बोकेको नाटकमा समाजको चित्रण झल्किन्छ । नाटकमा समाजका केही व्यक्तिको सामन्तवाद देखिन्छ । नाटक कुनै नाटक नभएर यथार्थ लाग्यो’ बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले भने, ‘समग्रमा नाटक हृदय विदारक छ, कारुणिक छ र पनि प्रगतिशील छ । यो नाटकले दिन खोजेको सन्देशलाई व्यवहारमा उतार्न आवश्यक छ ।’ दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले २०१७ सालमा लेखिएको कथा जस्तै गाउँघरको व्यथा अहिले पनि उस्तै रहेको बताए ।
पारिवारिक सुखदुःखमा रमाउँै आफ्नै पौरखमा बाँचिरहेका परिवारले नेवारी समुदायको तान बुन्ने परम्परा, टाकटुके (लाठी) नाच, धान रोपाईंका असारे भाकालाई बचाउन खोजिएको छ । समुदायका सवै व्यक्ति सुरुदेखि अन्तिमसम्म नेवारी पोषाकमै रहनु र नेवारी बोलिचाली हुनुले कथा नेवार परिवारको वरपर नै घुमेको हुन्छ । संघर्षमा रमाउँदै गरेको परिवार धान गोड्ने समय भीषण बर्षा, चट्याङ र पहिरोमा पर्छन् । उपन्यासको यो कथा नाटकमा भन्न कलाकारहरुलाई साढे १ घण्टा लाग्छ ।
उपन्यास ‘एक चिहान’ कक्षा १२ को पाठ्यक्रममा समेत रहेको छ । मञ्जरी नाट्य समूह लमजुङका अध्यक्ष केदार बोहोराका अनुसार साउन ३० गतेदेखि भदौ १ गतेसम्म दैनिक ३ पटक यो नाटक बेंसीसहरमा मञ्चन भयो । नाटकलाई जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, विद्यार्थी सवैले रुचाएको उनले दावी गरे ।
एक चिहान’ उपन्यास २००७ सालको परिवर्तनपछिको सामाजिक यथार्थवादी धरातलमा आधारित प्रगतिवादोन्मुख औपन्यासिक कृति मानिन्छ । यो उपन्यास वि.सं. २०११ सालको बाढी पहिरोमा परी काठमाडौंको एक नेवार किसान परिवारको एक चिहान भएको यथार्थ घटनामा आधारित भएर रचना गरिएको मानिन्छ । उपन्यास नेपाली भाषा प्रकाशिनी समिताबाट वि.सं. २०१७ सालमा पहिलो पटक प्रकाशित भएको हो । यसको संक्षिप्तीकरण संस्करण वि.सं. २०६७ सालमा साझा प्रकाशनबाट प्रकाशित भएकोे छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१ २१:०९