लमजुङमा यस वर्ष ११ हजार ८ सय ७५ हेक्टर क्षेत्रफलमा धान रोपाईं गरिएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ ।
केन्द्रका सूचना अधिकारी विजयराज पौडेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष धान रोपाईंमा बृद्धि भएको छ । गत वर्ष ९ हजार ३ सय हेक्टर जमिनमा धान खेती गरिएको थियो । यसवर्ष समयमै पानी पर्नुका साथै पाखोबारीमा रोप्न मिल्ने सुख्खा जातका धानबाट कृषक आकर्षित भएकोले धान खेती गर्ने क्षेत्रफल बृद्धि भएको उनले दावी गरे ।
ज्ञान केन्द्रले सुख्खा जातका धानको विउहरु वितरण गरेकाले पाखोबारीमा समेत यस धान रोप्न मिल्ने भएकाले पानी भएका स्थानहरुमा यस धान प्रशस्त मात्रामा रोपिएको उनले बताए । यस वर्ष धान रोपाईं सकिएको छ । यसवर्षका जिल्लाका किसानहरुले साउन २१ गतेसम्म धान रोपेका थिए ।
लमजुङको हर्राबोट, धमेलीकुवा, भोर्लेटार, करापुटार, हाँडेटार लगायतका क्षेत्र धानका लागि पकेट क्षेत्र मानिन्छ । केही सिमसार क्षेत्रहरुमा चेतै धान खेती समेत हुने गरेको छ ।
लमजुङमा ६ सय देखि १ हजार ६ सय मिटर उचाईसम्म धानको ब्याड राखिएको छ । ठूला फाँट राइनासटार, धमिलिकुँवा, रामचोकबेँसी, भोर्लेटार, भलाखर्क, चक्रतिर्थ, दुईपिप्ले, सुन्दरबजार, परेवाडाँडा, सोतीपसल, सत्रसयलगायतका स्थानामा धान उत्पादन राम्रो हुने गरेको छ ।
यस वर्ष जिल्लाका किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या–२, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्र लगायतको उन्नत जातको धान साथै लोकनाथ, गोरखनाथ, यूएस ३१२, मकवानपुर, वर्षे ३००४, मनसुली लगायतको हाइब्रिड जातको धान रोपाइँ गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१ २०:२२