लमजुङको सुन्दरबजारमा माघ ११ गतेदेखि २१ गतेसम्म दशौं सुन्दरबजार महोत्सव २०८१ हुने भएको छ । लमजुङ उद्योग बाणिज्य संघ सुन्दरबजार इकाईको आयोजनामा लमजुङ क्याम्पसको खेलमैदानमा महोत्सवको आयोजना गर्ने भएको हो ।
इकाईले बिहीबार सुन्दरबजारमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी महोत्सवबारे जानकारी गराएको छ ।
लमजुङ उद्योग वाणिज्य संघ सुन्दरबजार इकाई अध्यक्ष आनन्दराज श्रेष्ठले सुन्दरबजार क्षेत्रमा रहेको ऐतिहासिक, धार्मिक, पुरातात्विक स्थानको प्रचार प्रसार साथै परम्परागत कला र संस्कृतिको संरक्षणका लागि महोत्सव आयोजना गर्न लागेको बताए ।
कृषि तथा स्थानीय व्यापार व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवमा कृषि प्रर्दशनी, औद्योगिक तथा व्यापारिक प्रदर्शनी, लोक दोहोरीगीत प्रतियोगिता, खुला नृत्य प्रतियोगिता, जातीय तथा सांस्कृतिक झलकहरु, बाल उद्यान, सरकारी तथा गैरसरकारी संस्थाका गतिविधि प्रदर्शनी, साहित्यिक कार्यक्रम, होमस्टे सम्बन्धी प्रचारप्रसार, घरेलु तथा हस्तकला प्रदर्शनी, फोटो प्रदर्शनी, परम्परागत खाना महोत्सव, शैक्षिक तथा विज्ञान प्रदर्शनी लगायतका कार्यक्रम राखिएका छन् ।
लमजुङ उद्योग वाणिज्य संघका सल्लाहकार रामवावु श्रेष्ठका अनुसार महोत्सवमा उद्योगी, व्यवसायी, कृषक, वित्तीय संघसंस्था, विद्यालय तथा क्याम्पसका विद्यार्थी, सोधकर्ता, प्राध्यापक, कर्मचारी, व्यवसायी तथा सर्वसाधारणलगायतले गरी ५० हजार हाराहारी दर्शकले अवलोकन गर्ने अपेक्षा छ ।
इकाईका कोषाध्यक्ष सुरेन्द्र घिमिरेले महोत्सव सञ्चालनका लागि ८६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए । उनका अनुसार महोत्सवबाट प्राप्त हुने मुनाफाबाट सार्वजनिक शौचालय निर्माण गर्ने, स्थानीय मठ, मन्दिर, गुम्बा, चर्च र मस्जिदको प्रवर्दन गरी पर्यटन विकासमा सहयोग गरिनेछ । महोत्सवमा प्रतिटिकट १ सय रुपैयाँ र विद्यार्थी सहुलियत दिएर ८० रुपैयाँ कायम गरिएको आयोजक समितिका सचिव धनराज गुरुङले बताए ।
प्रकाशित मिति: शनिबार, पुस २७, २०८१ १६:१६