२०७१ भदौ १९ गते विहीबार बिहान ६ बजेतिर कास्कीको मादी गाउँपालिका ८, गहते गाउँस्थित एउटा आँगनमा ‘आधी माया क्योँला, आधी माया ङल’ अर्थात ‘आधा माया तिम्रो, आधा माया मेरो’ बोलको गीत बज्दै थियो ।
वरिष्ठ गुरुङ चलचित्रकर्मी लोकबहादुर गुरुङद्धारा लिखित तथा निर्देशित गुरुङ चलचित्र धीँ अर्थात ‘घर’ को यो गीतलाई चलचित्रकर्मी मनोज गुरुङले गाएका थिए । मनोजले यहि गीत बजाइरहँदा अभिनेता शुकलाल गुरुङको मोवाइलमा घण्टी बज्यो, गुरुङ चलचित्र एसोसिएसन नेपाल जीफानका तत्कालीन अध्यक्ष बेदबहादुर गुरुङ ‘श्याम’ को । संयोग नै मान्नुपर्छ, सोही गीत बजिरहेको पृष्ठभूमिमा वरिष्ठ संस्कृतिकर्मी लोकबहादुर गुरुङ निधन भएको खबर आयो ।
शुरुमा हैन होला जस्तो लाग्यो, संगैको अभिनेता शुकलाल गुरुङले आँखबाट धर्धरी आँशु बगाएपछि पत्याउन करै लाग्यो, अखिर सत्य पनि त्यही थियो । म भने कलाकार थमन गुरुङसंगै गाउँबाट झर्दै थिएँ । पछि चलचित्र ‘थु’ अर्थात साथीको शुभ मूर्हुतको कार्यक्रमलाई शोकसभामा परिणत गरिएपछि लोकसरको सम्झनामा गाउँले सवै रोए, वातावरण त्यस्तै बन्यो ।
लोकसर संगको भेट
गुरुङ गीतका क्यासेटहरुमा लेखिएको हुन्थ्यो, ‘गीतकार–लोकबहादुर गुरुङ अनि संगीतकार धनबहादुर गुरुङ ।’ गाउँमा ‘तमू संसार’ त्रैमासिक पत्रिका निकै चर्चित थियो । क्व्होलासोथार गाउँपालिका ५, भुजुङ गाउँको एउटा कुनामा जन्मिएको म, जब गाउँकै विद्यालयबाट एसएलसी पास गरेपछि २०५९ सालमा । मैले पोखरा जाने निधो गरेँ र पृथ्वीनारायण क्याम्पसमा भर्ना भएँ ।
गीतसंगीत, कलासाहित्यमा मेरो रुची भएकाले तमू संसारमा आफ्नो रचना प्रकाशित गर्ने साँेच बनाएँ र लोकसरको फोन नम्बर पत्ता लगाएँ । त्यसपछि उहाँको घर पोखरा अमरसिंह चोकनेर गएँ । कुराकानी भयो र लेख्ने साथै पत्रिकाप्रतिको झुकावले लमजुङ प्रतिनिधि बनाउने आश्वासन लोकसरले दिनुभयो, म खुसीले गद्गद् भएँ ।
अर्को दिन ‘मैले के गर्नुपर्छ’ भनेर सोध्दा उहाँले १५ वटा तमू संसार पत्रिका दिनुभयो र ‘यो सवै विक्री गरेर आउनु’ भन्नुभयो । १५ रुपैयाँ पर्ने पत्रिकाको १० रुपैँया आफूलाई दिन र ५ रुपैयाँ मलाई लिन भनेपछि हुन्छ भनेर पत्रिका लिएर गएँ । पोखरा जस्तो नयाँ शहरमा कहाँ जाउँ, कस्लाई भनौँ, मनमनै साँचेर रामबजारतिर लागेँ । सवैलाई पत्रिका लिन आग्रह गरेँ तर कसैले लिन मानेनन् । ‘यस्तो काम गर्दिन’ भनेर कोठामा फर्किने साँेच बनाएँ र कालिका उच्च मावि हुँदै भद्रकालीतर्फ फर्कँदै थिएँ । कालिका उच्च माविको प्राङ्गणमा एउटा कार्यक्रम रहेछ, सोँच बनाएँ र भित्र गएँ । त्यही बेला ३÷४ जना दिदीहरु आउनुभयो । एकजना दिदीले सोध्नुभयो, ‘तमू संसार नयाँ हो भाइ ?’ । मैले अँ मात्रै भने केही भन्न सकिन । दिदीले भन्नुभयो, अहिले आउँदा लिन्छु है ।’ मनमनै सोँचे, आउने हो कि हैन, लाने हो कि हैन । अपरान्हको ४ बजेको समय थियो, भोकले खपिनसक्नु थिएन, तै पनि कुरेँ ।
पछि दिदीहरु आउनुभयो । मेरो नाम सोधेपछि उहाँहरुले आफ्नो नाम पनि भन्न थाल्नुभयो । रेडियो नेपालमा काम गर्ने भनेपछि मैले शान्ति गुरुङ दिदीको नाम मात्रै सम्झिन भ्याएँ, म गाउँमा रेडियो नेपालको फ्यान थिएँ । उनसहितका साथीले ३ वटा पत्रिका लगेपछि साँझ ६ बजेसम्म १० वटा पत्रिका त्यहीँ विक्री भयो, अनि कोठामा फर्किएँ ।
भोलिपल्ट पत्रिका लिएर लोकसरकोमा गएँ, सरले सवै रकम मलाई दिनुभयो । ५ वटा पत्रिका गुरुङ संस्कृतिलाई माया गर्ने भेटिएमा निःशुल्क दिन आग्रह गर्नुभयो । मलाई थाह थिएन, उहाँले मेरो परीक्षा लिइरहेको रहेछ ।
मेरो रिपोर्टिङको गुरु
गाउँ–बेसीशहर–पोखरा भइरहँदा मैले लमजुङबाट प्रकाशित अन्तरंग साप्ताहिकमा मुक्तक, गजल लेख्ने र समाचार टिपाउने भएकाले तमू संसारमा लेखरचना र रिपोर्टिङ गर्न थालेँ । लोकसरलाई फोन गरेँ र उहाँले मिस पोखराको रिपोर्टिङ गर्न भन्नुभयो ।
पोखराको फूलबारी ठेगानामात्रै भन्नुभयो, अरु केही भन्नुभएन । म मिस पोखरा सजना गुरुङ खोज्दै गएँ, रानीपौवादेखि मणिपाल जाने बाटोबाट सोध्दै गएँ । कहीँ कतै कसैले पनि ‘चिनेको छैन’ भन्नेमात्रै जवाफ फर्काए । हिँड्दा हिँड्दा हैरान, खाजा खाने पैसा समेत थिएन । बाटोबाटो हिँडेर गएँ, कहाँ पुगियो, आफैँलाई थाह भएन ।
बीचबाटोमा पुगेपछि एउटा ठूलो घर लाहुरेको जस्तो लाग्यो र गुरुङकै होला भनी ठम्याएँ । एकजना लाहुरे हुनुहुँदो रहेछ, उहाँले भन्नुभयो, ‘सजनाको घर मणिपाल अस्पतालको तलतिर हो जस्तो लाग्छ ।’ सोध्दै जाँदा २÷३ जना गुरुङले मणिपाल शिक्षण अस्पतालको तलपट्टि पर्छ भनेपछि सोध्दै गएँ र सजना गुरुङको घरमै पुगेँ ।
मेरो लवाई देखेपछि सजना गुरुङको परिवार छक्क प¥यो, म विद्यालयको पोषाक लगाएर मिस पोखराको रिपोर्टिङमा गएको थिएँ । तै पनि तमू संसारबाट आएको भनेपछि सवै जानकारी गराउनुभयो र रिपोर्टिङ सकेर म फर्किएँ । लेखेर भोलिपल्ट लोकसरलाई देखाएँ, उहाँले मेरो समाचार लेखाइ मन पराउनुभयो । धेरै दुःख पाएको जानकारी गराउँदा उहाँले भन्नुभयो, ‘पत्रिकामा लेख्नेहरुले यस्तो दुःख कति पाउनुपर्छ कत्ति ।’ पत्रिका छापिएपछि सजना गुरुङलाई फोन गरेर भनेँ । त्यसको ४ महिना आसपास हुनुपर्छ, माछापुच्छ«े एफएममा भेटेपछि उहाँसंग त्यसयता कहिल्यै भेट भएको छैन ।
म, लोकसर र तमू संसार
म सानो छँदा पोखरा बसेको थिएँ । त्यतिबेला मेरो बुवाले तत्कालीन भद्रकाली विद्यालयका प्रधानाध्यापक लोकसरलाई चिन्नुहुँदो रहेछ । मलाई पछि उहाँको कुरा गर्नुहुन्थ्यो । मेरो पोखरा बसाइको झण्डै ३ बर्षको अवधिमा बुवाले भन्ने गर्नुभएको लोकसर, लोकबहादुर गुरुङको संगतमा तमू संसारमा काम गरेँ । शुरुमा प्रतिनिधि हुँदै प्रवेश गरेको पत्रिकामा मैले विशेष सहयोगीको भूमिकासम्म निर्वाह गरेँ ।
त्यतिबेला मैले लेखेको एउटै गाउँ र एउटै गाविसले परिचित मेरो गाउँ भुजुङको तस्विर र बेसीशहरको प्रथम ऐतिहासिक तमू महोत्सवको तस्विरसहित समाचार प्रकाशन भयो । त्यसताका लोकसरबाट गुरुङ भाषा, कला साथै संस्कारसंस्कृतिबारे जान्ने मौका पाएँ । रिपोर्टिङ गर्दागर्दै पोखराका पत्रपत्रिका साथै रेडियोहरुमा गाउँघरका समाचार लेखेर फोटोकपी गरेर बाँड्न थालेँ ।
पोखराको जनमत देखि पोखरापत्र, समाधान अनि आदर्श समाज दैनिकमा मेरो लेखरचना छापिन्थ्यो । त्यतिबेला म निकै खुसी हुन्थेँ । लोकसरको सल्लाह र सुझाव अनुसार नै अगाडि बढ्दै गएँ र जनआन्दोलन २०६२–०६३ पछि मैले लमजुङमै बसेर पत्रकारिता गरैँ र भौगोलिक दुरीबाट लोक र म केही टाढा हुनुप¥यो ।
त्यसयता गुरुङ चलचित्र र गीतसंगीत सम्बन्धी समाचारहरुमा मैले लोकसरको ‘भर्सन’ लिएरमात्रै समाचार सम्प्रेषण गर्दै आइरहेको थिएँ । पछिल्लो समय उज्यालो नेटवर्कको रंगदर्पणका लागि पुराना गुरुङ गीतको रिपोर्टमा पनि पोखराका पत्रकार देवीजंग गुरुङको सहयोगमा लोकसरकै आवाज राखेको थिएँ । त्यसमा गायिका विष्णु गुरुङको पनि थियो । यसअघि मैले लमजुङमा रेडियो चौतारी ९१.४ मेगाहर्जको स्थापना भएपछि स्टुडियोमा लोकसरसंग अन्तरवार्ता लिएको थिएँ ।
अन्त्यमा.......
लोकसरको निधनबाट गुरुङ समुदायले एउटा नक्षत्र र धरोहर गुमाएको छ । ६७ बर्षको उमेरसम्म उहाँले २ दशकबढी भाषा, कला र संस्कारसंस्कृतिका लागि मात्रै विताउनुभयो । गुरुङ भाषा, कला र संस्कारसंस्कृति जोगाउनुपर्ने भन्दै उहाँ लाग्नुभयो भयो । तर, उहाँको निधनसंगै गुरुङ भाषा, कला र संस्कारसंस्कृतिले एउटा अभिभावक गुमाएको छ ।
अभिभावक गुमाएको केटाकेटी झैँ रुमलिरहेको गुरुङ भाषा, कला र संस्कारसंस्कृतिको जगेर्ना अभियानले अब कुन रुप लिने भन्ने चिन्ता समेत बढ्न थालेको छ । उहाँले गुरुङ समुदाय र सिंगो देशप्रति समर्पित गरेको काला र संस्कारसंस्कृतिले उहाँलाई सदैव जीवन्त बनाइरहनेछ ।
गुरुङ गीत लेखनमा छुट्टै शैली प्रस्तुत गर्नुहुने स्व. लोकबहादुर गुरुङलाई राज्य र तमू संघसंस्थाले कतिको सम्झे या सम्झेनन्, सम्मान गर्न सके या सकेनन् तर, गुरुङ चलचित्रका दर्शक, तमूसंसारका पाठक साथै साहित्य, गीतसंगीतका पारखी तथा श्रोताले उहाँलाई सदैव सम्झिरहनेछन् । उहाँकै प्रेरणाले मैले समाजमा केही गर्ने मौका पाएको छु । मेरो मानस्पटलमा लोक सर सँधै रहिरनेछ । लोक सरप्रति हार्दिक श्रद्धासुमन ।
(लेखेको मितिः २०७१ कार्तिक २८ गते)
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१ १७:४२