बराबर आकारका ढुंगाका पाता । त्यही ढुंगाले छाएका घर । एउटै इन्जिनियरले डिजाइन गरेर बनाएजस्तै । सवै घर उस्तै । बीचमा केही जस्ताले नटल्किएका होइनन् ।
एकै ठाउँमा ४ सय घरधुरी । एउटै वडा । ७ सय बर्ष पुरानो मानिएको यो गाउँ पुगेपछिमात्रै देखिन्छ । कुमारी झैं लुकेर बसेको गाउँ । गाउँको बखान सुन्नेहरु पत्याउँदैनन् । जव गाउँ पुग्छन्, भन्छन्, ‘गाउँ त साँच्चिकै कुमारी नै रैछ नि ।’
लुकेर कसैले नदेख्ने गरी बसेको यही कुमारी गाउँको वास्तिविक नाम ‘फोछों’ हो । स्थानीयका अनुसार ‘फो’ भनेको मृग र ‘छों’ भनेको व्यापार । पहिले–पहिले मृगको व्यापार हुने ठाउँ, यसलाई कालान्तरमा फोजों भनियो । लेख्नेले भुजुङ लेखिदिए । अहिले भुजुङबाटै परिचित छ ।
कुनै सानो सहरजस्तो ठाउँ, आँगनसंगै जोडिएका गोरेटोले प्रायः झुकिन्छन्, अलमल पर्छन् । घर एउटै, आँगन, पीँढि पनि एउटैजस्तो देखिन्छन् । ‘गाउँ आउने जो कोही पनि एक्लै हिँड्दा हराउँछन् । पहिले बाटो बिराएका धेरै मान्छेले बसेको घर पत्ता लगाउन सकेनन् । अहिले मोवाइलको सुविधाले यताउता भन्दै, फलानो टोल, फलानोको घर, फलानो होमस्टे भनेपछि भेट हुन सजिलो हुन्छ’ वडाअध्यक्ष नारायण गुरुङ बताउँछन् ।
यो गाउँ संघीय संरचनापछि क्व्होलासोंथर गाउँपालिका ४ मा पर्छ । यो गाउँ लमजुङ सदरमुकाम बेंसीसहरबाट हिँडेर १ दिन लाग्छ । अचेल जीप चल्छ । करीब ३२ किलोमिटरको बाटो जीप चढेर साँढे २ घटामै पुगिन्छ ।
स्थानीयका अनुसार गाउँ आइनपुगेसम्म गाउँका केही कुरा पनि कसैलाई थाह हुँदैन । गाउँले बेंसीसहर, पोखरा, चितवन, काठमाडौं गएर पनि बस्न थालेका छन् । ‘लाहुरे परिवार, धनीमानी गाउँ छोडेर सहरबजार बसाईं सरेका छन् । तर, गाउँका घर भने खाली छैनन् ।
गाउँको रीतिथिति व्यवस्थापन समितिका अध्यक्ष कालबहादुर गुरुङका अनुसार गाउँमा आफ्नै परम्परा, रीतिरिवाज, थीति र चालचलन छ । ‘समय–समयमा प्रकृतिको पूजा हुन्छ । बनदेवीदेवता, सिमीभूमिको पूजाले गाउँको रक्षा गरेको छ । त्यसैले गाउँमा अनिकाल आउँदैन’ उनले भने । गाउँका सामान्य मनमुटावलाई सामाजिक परम्परा अनुसार गाउँमै मिलाउने स्थानीय बताउँछन् । सवै प्रकारको मुल्य तथा भाउ गाउँमा आफैं तोकेर प्रचलनमा ल्याउने छुट्टै कानुन स्थानीयले बनाएका छन् ।
लमजुङ हिमालको काखमा रहेको भुजुङभन्दा माथि गाउँ छैन । जिल्लाको पश्चिमोत्तर दिशामा पर्ने यो गाउँ एउटै गाउँ र एउटै गाविसले चिनिन्थ्यो । करीब १६ सय २० मीटरको उचाईको यो गाउँमा उक्त गाउँमा ९० प्रतिशत गुरुङ समुदायको बसोबास छ । १० प्रतिशत दलित समुदाय बस्छन् । मुख्य पेशा कृषि हो । कृषि औजार बनाउन यहाँका विश्वकर्मा समुदाय खटिएका छन् । लुगा सिलाउन परियार समुदाय खटिएका छन् । स्थानीय सुदबीर गुरुङका अनुसार बुढापाका अझै अल्लोबाट बनेका लुगा लगाउँछन् । गाउँमै सिलाएको लुगा पनि उत्तिकै लगाउँछन् ।
स्थानीयका अनुसार गुरुङ जातीको आदिम थलो क्होला (अन्नपूर्ण हिमालको काख) पतनपछि गुरुङ जातिका पम र प्हज्यू भाइखलक चिसा हुँदै वीजोँ (भुजुङको माथिल्लो डाँडा) आएर बसेका थिए । चैँबर खलकसंग पम र प्हज्यूको वीजोँमा भेट भएपछि आपासमा कुरा बाझियो । कहिल्यै नभेट्ने वाचासहित कालो पोथी कुखुरा काटेर चैँबर र अन्य दुइभाइले आ–आफ्नो बाटो तताए । चैँबर जातिका गुरुङ डाँडैडाँडा (घनपोखरा, घलेगाउँतर्फ) गए । प्हज्यू र पम पन्यूमा आएर वसे । दैनिक असुविधाले त्युजूमा वसाईं सरे ।
पश्चिमका स्योँड म्हिगीले घरपालुवा जनावर खाइदिने, लुटपाट गर्ने, कुटपिट गर्ने गरेपछि उनीहरुले लेम खलकका गुरुङ खोजेर ल्याए । लेमले भक्यौँलाका चिल्ला खुकुरी तथा तरवार बनाएर शत्रुलाई देखाएपछि उनीहरु पसगाउँ र सिङ्दीतर्फ भागेको स्थानीयले सुनाए ।
साढे २ दशकअघि सम्म गाउँ बीचको बाटोमा जथाभावि गरिएको दिसापिसाव र चौपायको गोबरले नाकमुख थुनेर हिँड्नुपर्ने अवस्था थियो । वल्लोगाउँ, पल्लोगाउँका कोही अत्यावश्यक कामबाहेक भुजुङ आउने थिएनन् । पानी बोक्न खोल्सामा दौडिनु प¥थ्र्यो । कतिजना चिप्लिएर घाइते भए । स्थानीय डीलबहादुर गुरुङका अनुसार अहिले घरघरमा शौचालय छ । घरघरमै पानीको सुविधा छ । नाली बनेका छन् । ‘गाउँसम्म मोटर चल्छ । चौविसै घण्टा बिजुली छ । सामानलाई गाउँ–खेत लानल्याउन ३ वटा रोपवे चलेको छ । खेतबारीका अन्नदेखि घाँसदाउरा समेत रोपवे बाटै ओसार्छौं’ उनले भने । धान कुट्न ढिकी छ र कोदो साथै मकै पिन्न पानीघट्टा अझै छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय २०५० सालमा स्थापना भएपछि स्थानीयले सरसफाई, संरक्षण, आयआर्जनबारेमा धेरै सिके । द्धन्दकालमा तत्कालीन माओवादीको बम प्रहारबाट कार्यालय भत्किएसंगै एक्याप विस्थापित भयो । शान्ति प्रक्रियासंगै पुनस्र्थापना भएको एक्यापले विकास सिकाउँदै र सहभागितामा साझेदार बनाउँदै आएको एक्याप इलाका संरक्षण कार्यालय भुजुङका प्रमुख राजेशप्रसाद गुप्ताले बताए ।
एक्यापले बन्यजन्तु र जडिबुटीको चोरी निकासीमा प्रतिबन्ध लगाएको छ । ‘विकासमा गाउँलेसंगै हिँड्यौं । संरक्षण सिकायौं । अहिले व्यवस्थापन समिति छ । दायाँबायाँ हरियाली छ । हाम्रै अगुवाईमा विजुली बल्यो । रोप वे बन्यो’ उनले भने, ‘स्वास्थ्य, शिक्षा यहीँ छ । जग्गा जमीन यहीँ छ । युवा विदेश गएपनि कतिपय गाउँमै छन्’ उनले भने । उनका अनुसार पछिल्लो समय घरघरै ग्याँस राखिएको छ । हरेकले कृषि कर्म गरेका छन् ।
भुजुङमा चियाखेती छ । अम्रिसो खेती छ । अलैंची खेती छ । होमस्टे संचालिका जुनी गुरुङका अनुसार बजारको चिया किनेर खानु पर्दैन । पाहुना पर्यटकलाई उपहार पठाउने गरेको उनले बताइन् । पर्यटन व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर गुरुङका अनुसार गाउँका ३३ घरमा होमस्टे छ । लोकल कुखुरा र लोकल मदिरा पर्यटकलाई मानसम्मान गर्ने गतिलो माध्ययम बनेको छ । ‘हिजो वल्लोगाउँ पल्लोगाउँका समेत आउन आनाकानी गर्ने गाउँमा अहिले विदेशबाट पर्यटक आएर बस्छन्’ उनले भने । मन्त्री, राजदूत, उच्चस्तरका सरकारी कर्मचारी समेत बेलाबेलामा गाउँ आउने गर्छन् ।
पर्यटन प्रवद्र्धनको लागि गुरुङ संग्रहालयलाई .व्यवस्थित गरिएको छ । बैशाखपूर्णिमामा घाँटु नाचिन्छ । घ्याब्रे, पच्यु, कृष्णचरित्र, सोरठी, सेर्का लगायतका लोपुन्मुख नृत्य पनि गाउँमा नाचिन्छ । पर्यटक आएपछि लालीगुराँस युवा क्लवले आफ्नो साँस्कृतिक प्रस्तुति देखाउँछन् । पर्यटकको स्वागत गर्न युम्पो विकास आमा समूहले जिम्मा लिएको छ ।
स्थानीय कूलबहादुर विकका अनुसार दलित समुदाय पर्यटकलाई स्वागत गर्न र आयआर्जनका लागि व्यवसायिक खेती गर्न थालिएको छ । ‘हिजो सम्म हामी गाउँलेसंग मागेर खान्थ्यौं । अहिले बारीमा गोलभेंडा फलाउँछौं, खुर्सानी फलाउँछौं । काँक्रो, घिरौंला, सागपात त छँदैछ । कुखुरा पालेका छौं । महिला जागरुक हुन थालेका छन् । बालबालिका पनि पढ्न थालेका छन्’ उनले भने ।
क्व्होलासोथार गाउँपालिका उपाध्यक्ष समेत रहेका स्थानीय गमीमाया गुरुङले गाउँका वासिन्दा परापूर्वकालदेखि एकजुट भएर गाउँको विकासमा अघि बढेको छ । गाउँको विकासका लागि गाउँपालिकाले सक्दो सहयोग गरिरहेको छ । गाउँलेको एकताले गाउँको विकासमा सकरात्मक परिवर्तन भइरहेको उनले बताइन् । भुजुङ घर भइ हाल बेंसीशहर बस्दै आएका समाजसेवी रामबहादुर गुरुङले गाउँको विकासका लागि देशविदेशमा रहेका गाउँले सवै एकजुट भएर अघि बढेको बताए ।
प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१ १५:५५