विविध कारणले रिक्त बनेका स्थानीय तहमा जनप्रतिनिधिका लागि आइतबार बिहानदेखि मतदान शुरु भएको छ । बिहान ७ बजेदेखि शुरु भएको मतदान कार्य साँझ ५ बजे सकिने निर्वाचन आयोगले जनाएको छ ।
नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन भएको हो । कैलाली र ओखलढुंगाका जिल्ला समन्वय समिति प्रमुख र रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. २ को वडाध्यक्ष भने निर्विरोध निर्वाचित भइसकेका छन् ।
काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि उपनिर्वाचन शुरु भएको छ ।
ताप्लेजुङको सिरिजंगा गाउँपालिका ३, झापाको कन्काइ नगरपालिका ६, तेह्रथुमको लालीगुराँस नगरपालिका ८, सुनसरीको गढी गाउँपलिका ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका ५, उदयपुरको त्रियुगा नगरपालिका १२ र बेलका नगरपालिका ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ को वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ ।
यस्तै, धनुषाको धनुषाधाम नगरपालिका १, महोत्तरीको रामगोपालपुर नगरपालिका २, रौतहटको ईशनाथ नगरपालिका ७, राजपुर नगरपालिका ६ र गढीमाई नगरपालिका ८ को वडाध्यक्ष पदका लागि पनि निर्वाचन हुनेछ ।
काठमाडौंको कीर्तिपुर नगरपालिका १ र ४, काठमाडौं महानगरपालिका १६, नुवाकोटको ककनी गाउँपालिका २, मकवानपुरको हेटौंडा नगरपालिका १२, गोरखाको गोरखा नगरपालिका ५, गुल्मीको मुसिकोट नगरपालिका १, रोल्पाको रुन्टीगढी गाउँपालिका ४, बर्दियाको ठाकुरबाबा नगरपालिका ४ र कपिलवस्तु शुद्धोधन गाउँपालिका १ को वडाध्यक्ष पदमा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।
यसैगरी, दैलेखको दुल्लु नगरपालिका १३, कालिकोटको तिलागुफा नगरपालिका ४, जाजरकोटको कुशे गाउँपालिका ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५, रुकुम (पश्चिम) को सानीभेरी गाउँपालिका ५, बझाङको सुर्मा गाउँपालिका ४, डोटीको पूर्वीचौकी गाउँपालिका ६, दार्चुलाको दुहुँ गाउँपालिका ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका ६ का वडाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था छ । उपनिर्वाचन हुने सवै स्थानीय तहमा मतदान कार्य सुरु भइसकेको निर्वाचन आयोगले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१ ०८:३९