हङकङमा स्थापित गुरुङ फिल्मकर्मीको साझा संस्था गुरुङ फिल्म एसोसिएशन हङकङ (जिफाह) ले आयोजना गरेको जिफाह साँझ–२ भव्य रुपमा सम्पन्न भएको छ ।
गुरुङ गीतसंगीत र चलचित्रको माध्यमबाट गुरुङ समुदायको कला–संस्कृतिलाई विश्वभरी प्रवर्द्धन गर्न आयोजना गरिएको जिफाह साँझ नोभेम्बर १७ का दिन हङकङको याउ मा तेई कम्युनिटी हलमा भव्यताका साथ सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष माया गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङ फिल्म एसोसिएशन नेपालका पूर्वअध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य बेदबहादुर गुरुङ (श्याम) ले गुरुङ समुदायका चलचित्रकर्मीले जहाँ गए पनि, जहाँ रहे पनि आफ्नो भाषा, कला र संस्कृति भुल्न नहुनेमा जोड दिएका थिए । गुरुङ फिल्म एसोएिसशन नेपाल (जिफान) का अध्यक्ष राजबहादुर गुरुङ (राजेश) ले शुभकामना मन्तव्य राख्दै जिफाहले गरेका कार्य उत्कृष्ट रहेको बताए ।
कार्यक्रममा जिफाहका संस्थापक अध्यक्ष रोशन गुरुङ, प्रमुख सल्लाहकार दिलिपसिंह गुरुङ, तमु ट्हो ह्युल हङकङका अध्यक्ष ईश्वर गुरुङ, तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष मनबहादुर गुरुङ, तमु समाज हङकङका अध्यक्ष नरेन्द्रराज गुरुङ (आरेन्द्र), प्रदेश नं. १ तमु समाज हङकङका अध्यक्ष हेमप्रताप गुरुङ, कार्यक्रमका मुख्य प्रायोजक राम गुरुङ, वरिष्ठ चलचित्र निर्देशक नबिन सुब्बा, जिफाहका सल्लाहकारहरुलगायत हङकङमा स्थापना भएका ७० भन्दा बढी नेपाली तथा गुरुङ संघ–संस्थाहरुलाई निमन्त्रणा गरिएको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष ओम गुरुङले उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्यबाट स्वागत गरेका थिए । उक्त अवसरमा परदेशमा रहेर पनि गुरुङ समुदायको भाषा, भेषभुषा तथा कला–संस्कृतिलाई संरक्षण एवं सम्बर्द्धन गर्न गुरुङ चलचित्रको माध्यमबाट निरन्तर रुपमा दिएको योगदानको उच्च कदर गर्दै गुरुङ फिल्म एसोसिएशन हङकङ (जिफाह) का संस्थापक अध्यक्ष एवं कलाकार रोशन गुरुङलाई गुरुङ समुदायको रित अनुसार फेटा लगाई अभिनन्दन–पत्रद्वारा सम्मान गरिएको थियो ।
यस्तै, गुरुङ फिल्म एसोसिएशन हङकङ (जिफाह) का संस्थापक उपाध्यक्ष, लेखक, निर्देशक एवं कलाकार गणेश गुरुङ (सुवाश) र गुरुङ चलचित्र निर्माता एवं समाजसेवी राम गुरुङलाई गुरुङहरुको रित अनुसार फेटा र सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो ।
पहिलो भागको औपचारिक कार्यक्रमको सञ्चालन संस्थाको महासचिव विश्वास गुरुङले गरेका थिए । साँस्कृतिक कार्यक्रमको सञ्चालन जिफाहका संस्थापक उपाध्यक्ष सुवाश गुरुङले गरेका थिए ।
सांस्कृतिक संयोजक गमन घले रहेको ‘जिफाह साँझ–२’ कार्यक्रममा नेपालबाट कोरियोग्राफर साजन गुरुङ, गायिका उषा गुरुङ, नायक मनोज गुरुङ, आनन्द गुरुङ नायिका अनुसा गुरुङ, अन्जु गुरुङ, अमेरिकाबाट नायिका तथा निर्माता एन्सर्ज गुरुङ, अष्ट्रेलियाबाट नायक विश्वत्मा गुरुङलाई आमन्त्रण गरिएको थियो । हङकङबाट गायक मनोज गुरुङ, नायकहरु रोशन गुरुङ, गमन घले, विश्वास गुरुङ, ओम गुरुङ, नायिका तथा कलाकार सुनिता गुरुङ, मुस्कान गुरुङ, प्रिया गुरुङ, सिर्जना गुरुङ (ए), सिर्जना गुरुङ (बी) र संगीता गुरुङ साथै नेपालबाट आमन्त्रित जिफानका पूर्वअध्यक्ष एवं गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर गुरुङ (श्याम) र जिफानका अध्यक्ष राजबहादुर गुरुङ (राजेश) को बेजोड प्रस्तुति रहेको थियो ।
बाक्लो दर्शकहरुको उपस्थिति रहेको जिफाह साँझ–२ कार्यक्रममा गीत, संगीत, नाटक र लोक–पौराणिक नृत्यहरुबाट गुरुङ समुदायले बाह्रै महिना भित्र मान्दै आइरहेको मौलिक पर्व तथा संस्कार–संस्कृतिहरु झल्किने प्रस्तुतिहरु पस्किँदा दर्शकका आँखाबाट आँसु बगेको थियो ।
समय अभावले सवै प्रस्तुति देखाउन असमर्थ रहेको भन्दै जिफाहका महासचिव विश्वास गुरुङले क्षमायाचना गरेका छन् । उनले जिफाहका तर्फबाट आमन्त्रित तथा उपथित सवैमा धन्यवाद ज्ञापन गरेका छन् ।
तस्बिरहरुः एचके दर्पण, सन स्टुडियो, माया गुरुङ, विश्वास गुरुङलगायत
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१ १५:१५