लमजुङको क्व्होलासोथार गाउँपालिकाले आगलागी पीडितलाई खाद्यान्न, भाँडाकुँडालगायत सहयोग गरेको छ । क्व्होलासोथार गाउँपालिका ७, मैकुनास्थित नानाकुमारी गुरुङको परिवारलाई सहयोग गरेको हो ।
गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, वडाअध्यक्ष लक्षुमन गुरुङ, प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्ले, शिक्षा शाखा प्रमुख दिपकराज पौडेललगायतले घरमै पुगेर पीडित परिवारलाई आइतबार राहत वितरण गरेको हो ।
पीडित परिवारलाई व्ल्याङ्केट र म्याट ३–३ थान, लाइट, थर्मस, चामल २ बोरा, दाल, मसला, बेसार, खुर्सानी, नुन, तेल, साबुन, बाल्टिन, प्रेसर कुकर, जग, बाटा, कराइ, डेक्ची, डाडुपन्यु, ताप्केलगायत ३१ प्रकारका सामग्री वितरण गरेको हो । प्रमुख प्रशासकीय अधिकृत वाग्लेले आगलागी पीडित परिवारलाई २५ हजार रुपैयाँ बराबरको राहत सामग्री प्रदान गरिएको बताए ।
गाउँपालिका अध्यक्ष गुरुङले घर पुनःनिर्माणका लागि विपद् व्यवस्थापन समितिको बैठक बसेर जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयमा निर्णय पठाइने र गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । घर पुनःनिर्माण प्रयोजनका लागि वडा प्राविधिक शिवकुमार जिरेलले घरको नापजाँच गरेका छन् ।
मैकुनाका नानाकुमारीको घरमा कार्तिक २१ गते राती आगलागी भएको हो । घरमा आगलागी हुँदा नगदसहित घरम भएका सवै भाँडाकुँडा, लत्ताकपडा, खाद्यान्न जलेर नष्ट भएका थिए । आगलागीमा परेर नगद २ लाख २३ हजार रुपैयाँ, घरमा भएका टेलिभिजन, मोवाइल, नागरिकता, जग्गाधनी पूर्जालगायत सरकारी काजगपत्रहरु समेत जलेर नष्ट भएका पीडित परिवारले बताएका छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१ १९:४३