बेलायतमा यसवर्ष आयोजित १५ औं संस्करणको नेपाली मेला भदौ १० गते सोमबार सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।
तमू धीं युकेले राजधानी लण्डनको केम्पटन पार्क रेस कोर्समा मेलाको आयोजना गरेको हो । बेलायतका ४० बढी नेपाली संघसंस्थाले विभिन्न मौलिक झाँकी र नृत्यसहित सुरुवात गरिएको मेलामा ८ हजार बढी सहभागी भएको आयोजक तमू धीं युकेले जनाएको छ ।
कार्यक्रमको उद्घाटनसत्रमा विभिन्न समुदायले सिली साकेला, लाखे, ट्होटे, सालैजोलगायत साँस्कृतिक झाँकी प्रदर्शन गरेका थिए । मेलामा राखिएका ६५ वटा स्टलहरु आकर्षणको केन्द्र बनेको थियो ।
मेलाको तमू धीं युकेका अध्यक्ष हरि गुरुङ, नेपाली दूतावास लण्डनका कार्यवहाक राजदूत रोशन खनाल, संस्थापक अध्यक्ष मिनबहादुर गुरुङ र १५ औं नेपाली मेला कार्यक्रम संयोजक तथा उपाध्यक्ष परशु गुरुङले दीप प्रज्वलन गरेर शुभारम्भ गरेका थिए । आयोजक तमू धीं युकेका वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, नेपाली मेला १५ औं संस्करणका संयोजक परशु गुरुङ, सल्लाहकार एकेन्द्र गुरुङलगायतले नेपाली मेला सभ्य र भव्य रुपमा सम्पन्न भएको जानकारी दिए ।
मेलामा बेलायतका लागि कार्यवाहक नेपाली राजदूत रोशन खनाल, एनआरएनए आईसीसीका अध्यक्ष बद्री केसी, एनआरएन युकेका अध्यक्ष हितकाजी गुरुङलगायते मन्तव्य राख्दै नेपाली मेलाको सफलताको कामना गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री जितप्रकाश आले, नेपालका संविधान सभा सदस्य तारा राई, सैनिक सहचारी अनुप शाहलगायतको उपस्थिति थियो । यस्तै, तमू धीं यूकेका संस्थापक अध्यक्ष मिनबहादुर गुरुङ, पूर्वअध्यक्षहरु सुवाससिङ गुरुङ, रामचन्द्र गुरुङ (सुर्जे), ज्ञाम गुरुङ, नन्दजंग गुरुङ, आमा समूहका वर्तमान अध्यक्ष सन्ध्या गुरुङ, निवर्तमान अध्यक्ष, पदाधिकारी, बुद्धिजीविलगायतको उपस्थिति थियो ।
मेलाको अवसरमा आयोजित एम्बास्डर कपमा पासा पुच गुठी विजयी बनेका छन् । किराँत याक्थुङ चुम्लुङ युके उपविजेता र किराँत राई यायोक्खा युके तृतीय बनेका छन् । विजेता पासा पुच गुठीले १ हजार १ सय पाउन्ड, उपविजेता किराँत याक्थुङ चुम्लुङले ७ सय पाउन्ड, तृतीय स्थानमा चित्त बुझाएको किराँत राई यायोक्खाले ५ सय पाउन्ड नगद र प्रमाणपत्र पाएको छ । कपमा शेर्पा समाज यूकेले सान्त्वना स्थान हासिल गरेको छ ।
मेलामा उत्कृष्ट झाँकी प्रस्तुत गरी पासा पुच गुठी यूकेले प्रथम स्थान ओगट्दै ५ सय पाउन्ट हात पारेको छ । दोस्रो किराँत याक्थुङ चुम्लुङ युके हुन सफल भइ ३ सय पाउन्ड र किराँत राई यायोक्खा यूकेले तेस्रो स्थान हासिल गर्दै २ सय पाउन्ड पुरस्कार पाएको छ ।
नृत्यतर्फ किराँत याक्थुङ चुम्लुङ युकेले प्रथम स्थान हासिल गरी ५ सय पाउन्ड पुरस्कार पाएको छ । पासा पुच गुठी यूकेले दोस्रो स्थान हासिल गर्दै ३ सय पाउन्ड पुरस्कार प्राप्त गरेको छ । किराँत राई यायोक्खा यूकेले तेस्रो स्थान हासिल गर्दै नगद २ सय पाउन्ड पुरस्कार प्राप्त गरेको छ ।
मेलामा एनआरएनए कपमा पासा पुच गुठी च्याम्पियन बनेको छ । प्रेसिडेन्ट च्वाइसको ५ सय पाउन्ड किराँत राई यायोक्खा यूकेले प्राप्त गर्न सफल भएको छ । यसवर्षको नेपाली मेलामा साँस्कृतिक झाँकीतर्फ ४० वटा समूहले भाग लिएका थिए । स्टेजतर्फ सांस्कृतिक कार्यक्रममा १८ टिमले भाग लिएको आयोजकले जनाएको छ ।
मेलामा तमू समाज युकेका निवर्तमान अध्यक्ष शिवकुमार गुरुङ, नेपाल मगर संघ यूकेका संरक्षक तथा साहित्यकार घनबहादुर थापामगर, कृष्णा थापा मगर, सगरमाथा आरोही जोर्डन क्षेत्री, विनोद चिपालुलाई आयोजक तमू धीं यूकेले सम्मान गरेको थियो ।
तमू धीं युकेका सल्लाहकार साहित्यकार एकेन्द्र गुरुङको प्रमुख संयोजकत्वमा झाँकीको निर्णायक मण्डलमा मगर संघ युकेका ट्रष्टी तथा पत्रकार जमुना पुन, समाजसेवी तथा अन्तर्राष्ट्रिय साहित्य समाज बेलायतका निवर्तमान अध्यक्ष सुमलकुमार गुरुङ, गीतकार शशी थापा सुब्बा र वरिष्ठ संगीतकार दिनेश सुब्बा रहेका थिए । नृत्यतर्फको निर्णायकमा कलाकार कविता घर्तीमगर, लक्ष्मी गुरुङ र अस्मिता रानामगर रहेका थिए ।
नेपाली मेलामा कलाकारहरु राजन गुरुङ, शिवदास गुरुङ, आरुषी मगर, नेसन पुनले आ–आफ्नो प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन सूर्य गुरुङ, योगेश गुरुङ, पुनम गुरुङ र हेलिसा गुरुङले गरेका थिए ।
मेलामा मेला संयोजक एवं तमू धीं यूकेका उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य राखेका थिए । औपचारिक कार्यक्रमको सञ्चालन तमू धीं युकेका महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१ १७:०६