नेपाली धार्मिक र सांस्कृतिक रूपमा हामी धेरै धनी छौं । यो पाटोलाई पर्यटनसंग पनि जोड्न आवश्यक छ । यसो गर्न सक्यौं भने हाम्रो संस्कृतिको संरक्षण र आम्दानीमा सकारात्मक रूपान्तर हुने देखिन्छ ।
हरेक वर्ष जसरी नै यस वर्ष पनि दशैं भित्रिसकिएको छ । दशैं भित्रिएलगत्तै सबैले आफ्नो आयस्तर अनुसार किनमेल, डेकुरेसनमा खर्च गरेका छन् । समाजमा विभिन्न आयस्तर भएका मानिहरू छन्, कोहीका आर्थिक स्रोत बढी छ, कोहीको कमी । तर, कमीमा पनि नपर्ने जमात पनि छ यहाँ । अर्थात् स्रोत कमी छ भन्नु र कत्ति पनि छैन भन्नु त फरक कुरा होला नि । ती वर्गहरूका लागि पनि मध्यनजर गर्दै दशैं जस्ता अन्य चाडपर्वहरू भड्किलो बनाउनु हुँदैन भन्ने मेरो साधारण बुझाइ या धारणा हो ।
केही वर्षयता बडादशैं होस् वा अन्य चाडपर्वहरु भडिक्ला बनिरहेका छन् । कतिपयलाई ऋण काढेर चाडबाड मनाउनुपर्ने बाध्यता बनाइदिएको छ । समाजमा हरेक बर्गका मानिसहरु बस्छन् । च्याङ्ग्रा, भेडा, खसी व्यक्तिका घरमा काटेर दशैं मनाउने चलन बढ्दो छ ।
ठूला खसीबोका हामीले काट्नै पर्ने हो ? सक्नेले त गर्ने, नसक्नेले ? सीमित घेरा भित्र नबसौं, खर्चिलो परिस्थिति जो निर्माण हुँदै गएको छ, त्यसले आफूलाई मात्र हानी गर्दैन । समाजमा विभिन्न वर्गहरू छन्, वर्ग अनुसार नै नकारात्मक असर पुग्न जान्छ । सामान्य भात र तरकारी खान हम्मे हम्मे परिवारलाई पनि सोचौं, चोट के हो ? त्यहाँ छ ।
दशैं आर्थिक रूपमा धनीका लागि मात्र हो, गरिबका लागि होइन भन्ने कुरा गाउँघरमा धेरै सुन्दै र देख्दै पनि आएको कुरा जगजाहेर छ । ठूला खसी काट्दैमा, रक्सी धेरै खाएर हल्ला गर्दैमा राम्रो हुने भए बौद्धिक जमातले पनि त्यहि गर्दथ्यो होला नि । रक्सी खाएर झै–झगडा गरेका कुराहरू सुनिरहेका छौं । यसो नगरौं, यसो गर्नाले कसैलाई पनि फाइदा गर्दैन ।
जहाँ सम्म शारीरिक स्वास्थ्यको कुरा छ, हामी मानिससंग धेरै मासु पचाउन सक्ने प्रणाली नै छैन । भड्किलो हुन नदिनका लागि र शारीरिक स्वास्थलाई ख्याल राख्नका लागि पनि सरल र सन्तुलित हुनुपर्दछ ।
हाम्रो एउटा उखान छ नि, ‘घाँटी हेरर हाड निल्नू ।’ शब्दसंग म सहमत त छैन तर, दिन खोजेको जुन सन्देश छ, त्यसमा सहमत छु । किनकि, हाम्रो खर्च गर्न सक्ने क्षमता जति छ त्यहि अनुसार नै खर्च गरौं, देखाउनका लागि ऋणको भारी नबोकौं भन्ने हो । र, घाँटी हेरेर मासु निल्नु पर्छ, हड्डी होइन भन्ने मेरो बुझाई हो । किन पनि यो शब्दलाई नियाल्न खोज्दै छु भने, पराम्परागत रूपमा जे कुरा आएका छन्, सबै कुरालाई हामीले मान्नु पर्छ भन्ने छैन । कति बैज्ञानिक छन् कति अबैज्ञानिक छन् । सत्य र आवश्यक कुरालाई मात्र अगाडि बढाउनु पर्छ भन्ने मान्यता राख्दछु । सबैको सम्मान गरौं, समाजमा नकारात्मक असर पर्ने क्रियाकलाप नगरौं, सकारात्मकताको खोजकर्ता बनौं, जस्ले गर्दा संस्कृतिको जगेर्ना पनि हुन्छ ।
हामीले जगेर्ना गर्ने संस्कृति हाम्रा लागि अमुल्य सम्पत्ति हुन् । यो सम्पत्तिलाई पर्यटनसंग जोडेर आर्थिक उपार्जनको बाटो तय गर्नुपर्छ । हरेक संस्कृतिलाई विश्वसामु चिनाउने र त्यही संस्कृतिमा सबैलाई सभ्य रुपमा रमाउने व्यवस्था हामी नेपालीले गर्न सक्यौं भने यसबाट पर्यटन प्रवर्द्धन हुनेमा दुइमत छैन ।
जे होस्, हामीमाझ बडादशैं भित्रिएको छ । ‘आयो दशैं ढोल बजाइ, गयो दशैं ऋण बोकाइ’ भनेजस्तो कसैलाई पनि नपरोस्, यसतर्फ सचेत नागरिक अझ सचेत हुन आवश्यक छ । भव्य होइन, सभ्य दशैंलगायत चाडपर्वको सबै नेपालीमा शुभकामना ।
प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१ ०९:२९