लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सञ्चालन गरेको ३ दिने कृषि तथा पशु हाटबजारमा आफ्ना उत्पादन विक्री गर्न पाएपछि कृषकले खुसी व्यक्त गरेका छन् ।
गाउँपालिकाले खुदीको कृषि सेवा केन्द्रमा बिहीबार, शुक्रबार र शनिबार कृषि तथा पशु हाटबजारको आयोजना गरेको हो ।
हाटबजारमा कृषकले ७० भन्दा बढी खसीबोका विक्री गरेका छन् । हाटबजारकै अवसरमा १२ लाख रुपैयाँ बराबरको मह विक्री गरेका छन् । गाउँठाउँमा उत्पादित सवैखाले कृषि उपज, पशु उत्पादन तथा हस्तकलाका सामग्री विक्री गरेका छन् ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले असोज १७, १८ र १९ मा पहिलो पटक दशैंलक्षित कृषि पशु हाटबजारले उत्पादक किसानहरु र उपभोक्ताहरु सबै उत्साहित भएको बताए । उनका अनुसार कृषकले हाटबजारभरी २५ लाख रुपैयाँ बढी आम्दानी लिएका छन् । कृषकले दशैंको मुखमा आफ्ना उत्पादन विक्री गरी आर्थिक लाभ लिएको र उपभोक्ताले पनि गाउँघरकै उत्पादन पाएको उनले बताए ।
उनले अब तिहार लक्षित हाटबजार आयोजना गर्दै यसलाई पहिला नियमित रुपमा मासिक गर्ने र आवश्यकताअनुसार साप्ताहिक समेत गर्न सकिने बताएका छन् । ‘यसलाई थप व्यवस्थित गर्नको लागि सक्दो प्रचारप्रसार गर्दै आम उत्पादक किसानहरुले अर्गानिक र स्थानीय उत्पादनमा जोड दिने, उपभोक्ताहरुले हाम्रो स्थानीय उत्पादनको प्रयोगलाई प्राथमिकतामा राख्ने, पालिकाले बैज्ञानिक मूल्य निर्धारण गरि आत्मनिर्भर बनाउदै व्यवसायिक उत्पादन बढाएर निकासी बढाउन जरुरी छ’ उनले भने ।
हाटबजार सञ्चालन समितिका अध्यक्ष भिष्मकान्त कुइँकेलले हाटबजारमा गाउँगाउँका उत्पादनले बजार पाएको बताए । उनका अनुसार उत्पादित कृषि वस्तु विक्री गर्न पाउँदा किसान खुसी छन् ।
गाउँपालिकाले हाटबजारलाई लक्षित गरेर ३४ प्रकारका कृषि उत्पादनको मुल्य निर्धारण गरेको थियो । हाटबजारमा आलु, काउली, बन्दा, गोलभेडा, प्याज, लसुन, साग, निगुरो, एभोकाडो, ड्रागन फ्रुटलगायत विक्रीका लागि राखिएका थिए ।
यस्तै, खसी, बोका, भेडा, बंगुर, सुंगुर, लोकल खुकुरा, गिरीराज, असला, ट्राउट, कार्पलगायत माछा साथै डोको, नाम्लो, दुना, टपरीलगायत हस्तकला सामाग्री राखिएका थिए । खाद्यान्नतर्फ चामल, कागुनो, कोदो, मकैलगायत पिठो, मास, दाललगायत राखिएका थिए ।
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१ १७:२०