लमजुङको मर्स्याङ्दी गाउँपालिकामामा बिहीबारदेखि कृषि तथा पशु हाटबजार सुरु भएको छ । गाउँमा उत्पादित कृषि उपजको गाउँठाउँमै विक्री र उपभोगका लागि गाउँपालिकाले कृषि तथा पशु हाटबजार सुरु गरेको हो ।
गाउँपालिकाले खुदीस्थित कृषि सेवा केन्द्रमा सञ्चालन गरेको गरेको हाटबजार शनिबारसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । कृषि उत्पादनलाई बढावा दिन गाउँपालिकाले पहिलोपटक हाटबजार सुरु गरेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । उनका अनुसार हाटबजारमा किसानहरुले उत्पादन गरेका कृषि उपज, पशुजन्य उत्पादन तथा हस्तकलाका सामागी विक्रीका लागि ल्याएका छन् । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईंले गाउँका कृषकले उत्पादन गरेका उपजलाई बजारीकरण गर्न र गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन हाटबजारले सहयोग मिल्ने दावी गरे ।
हाटबजार सञ्चालन समितिका अध्यक्ष भिष्मकान्त कुइँकेलले हाटबजारमा गाउँगाउँका उत्पादनले बजार पाएको बताए । उत्पादित कृषि वस्तु विक्री गर्न पाउँदा किसान खुसी भएको उनले बताए । कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख वरिष्ठ बाली विकास अधिकृत सुदिप खतिवडाले कृषि हाटबजारले किसानलाई कृषि कर्म गर्न प्रोत्साहन मिलेको बताए ।
गाउँपालिकाले हाटबजारलाई लक्षित गरेर ३४ प्रकारका कृषि उत्पादनको मुल्य निर्धारण गरेको छ । हाटबजारमा आलु, काउली, बन्दा, गोलभेडा, प्याज, लसुन, साग, निगुरो, एभोकाडो, ड्रागन फ्रुटलगायत विक्रीका लागि राखिएका छन् ।
यस्तै, खसी, बोका, भेडा, बंगुर, सुंगुर, लोकल खुकुरा, गिरीराज, असला, ट्राउट, कार्पलगायत माछा साथै डोको, नाम्लो, दुना, टपरीलगायत हस्तकला सामाग्री राखिएका छन् । खाद्यान्नतर्फ चामल, कागुनो, कोदो, मकैलगायत पिठो, मास, दाललगायत राखिएका छन् ।
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१ २०:५८