बिहिबार, साउन १४, २०७८ / Jul 29, 2021
Loading...

मोटरसाइकल बीमाशुल्कमा नेको इन्स्योरेन्सको मनपरी, साढे ६ हजारमा हुने बीमा गर्न १५ हजार !

Advertisement
मोटरसाइकल बीमाशुल्कमा नेको इन्स्योरेन्सको मनपरी, साढे ६ हजारमा हुने बीमा गर्न १५ हजार !
Advertisement

रिस्क बढेकाले मूल्य बढायौँ : नेको इन्स्योरेन्स

काठमाडौं । गतवर्ष जम्मा ५ हजार २ सय ३७ रुपैयाँ बीमाशुल्क तिरेर आफ्नो मोटरसाइकलको बीमा गराएका एक ग्राहक यसवर्ष बीमा नवीकरणका लागि नेको इन्स्योरेन्सको कार्यालयमा पुगे । १ सय ५० सीसीको पल्सर मोटरसाइकलको बीमा गराएका ती ग्राहकले गतवर्ष बीमा गराउँदा बीमाङ्क रकम २ लाख २० हजार रुपैयाँ थियो ।

सो बीमा अवधि सकिन लागेपछि असोज १२ गते उनी नेको इन्स्योरेन्सको कार्यालयमा वीमा नवीकरणका लागि पुगे । बीमा गरेदेखि हालसम्म उनले कुनै दाबी भुक्तानी नलिएको कारण १५ प्रतिशत नगद छुट पाउने र मोटरसाइकलको घोषित मूल्यमा पनि ह्रासकट्टि हुने हुँदा पहिलेभन्दा १ हजार रुपैयाँ कम पर्ने उनको अनुमान थियो ।

केन्द्रीय कार्यालय अनामनगरमै पुगेर बीमा नवीकरण गर्न खोज्दा उनलाई ७ हजार ५ सय शुल्क लाग्ने भनियो । गतवर्ष नै ५ हजार २ सय ३६ रुपैयाँ ९९ पैसामा बीमा गरेका उनले के कति कारणले बीमा शुल्क बढ्यो भनेर सोध्दा उनलाई मोटरसाइकल धेरै चोरिने गरेको कारण शुल्क बढी लिनु परेको इन्स्योरेन्सले जवाफ दियो । तर, कुन कुन शीर्षकमा किन र कसरी बीमाशुल्क बढेको हो भन्ने जवाफ दिएन । बरु, पैसा तिर्नु, नवीकरणको बिलमा सबै कुरा आउँछ मात्रै भनियो ।

गतवर्षको इन्स्योरेन्स, त्यसपछि कुनै दाबी भुक्तानी नगरेको हुँदा १५ प्रतिशत र प्रत्यक्ष सम्पर्क भई कार्यालयमै गएर इन्स्योरेन्स गराउँदा नियमत १० प्रतिशत छुट पाइन्छ । घोषित मूल्यमा ह्रास कट्टी समेत गर्दा ती ग्राहकले करिब ४ हजार ५ सय रुपैयाँमात्रै बीमा रकम तिर्नुपर्ने थियो । मोटरसाइकलको बीमामा घाटा भएको भन्दै नेको इन्स्योरेन्सले यसवर्ष मोटरसाइकलको बीमा दोब्बर बनाएको छ । गत वर्षसम्म १.५ प्रतिशत रहेको मोटरसाइकल बीमाको प्रिमियिम यस वर्षबाट नेको इन्स्योरेन्सले ५ प्रतिशत पुर्याएको पाइएको छ ।

नेको इन्स्योरेन्सले मोटरसाइकल बीमाको शुल्क बढाएको गुनासो गर्दै एक ग्राहक रातोपाटीको सम्पर्कमा आएपछि हामी आफैँ ग्राहक बनेर नेको इन्स्योरेन्ससँग कुराकानी गरेका थियौँ ।  हामीले २२० सीसीको नयाँ पल्सर मोटरसाइकल किनेको र त्यसको बीमा गर्न लागेको भन्दै कति रकम लाग्छ भनेर सोध्यौँ । हामीलाई इन्स्योरेन्सले करिब १८ हजार रुपैयाँ लाग्ने बतायो । पहिलो साढे ६ हजारमै हुने बीमा अहिले किन महँगो भनेर सोध्दा मोटरसाइकलको प्रिमियम बढेको र ५ प्रतिशत पुगेको बतायो ।

यस्तो छ नेको इन्स्योरेन्सले लिने बीमाशुल्कको हिसाबकिताब

अहिले २ सय २० सीसीको नयाँ पल्सर मोटरसाइलको बजार मूल्य ३ लाख १५ हजार रुपैयाँ पर्छ । अहिले नेको इन्स्योरेन्सले लिने प्रिमियम अर्थात् ५ प्रतिशत रकम लिँदा यसको बीमाशुल्क मात्रै १५ हजार ७ सय ५० रुपैयाँ पर्छ ।

बीमामा स्वेच्छिक अधिक (निश्चित सीमासम्म हुने क्षतिमा दाबी नगर्ने) छुट पनि पाइन्छ । बीमा गर्दा ५ सय रुपैयाँसम्मको क्षति दाबी नगर्दा १० प्रतिशत, १ हजार रुपैयाँसम्म दाबी नगर्दा १५ प्रतिशत छुट र २ हजार रुपैयाँसम्मको बीमा दाबी नगर्ने शर्तमा २५ प्रतिशत छुट पाइन्छ । सामान्यतः बीमा कम्पनीले ग्राहकलाई १ हजारभन्दा बढीको क्षतिमा मात्रै दाबी भुक्तानी गर्नेगरी १५ प्रतिशत छुटमा बीमा गर्ने गर्छन् । केही ग्राहकले २ हजार ‘स्वेच्छिक अधिक’ छाड्दा २५ प्रतिशत छुट पाउँछन् ।

यसरी हेर्दा २५ प्रतिशतको दरले सो मोटरसाइकलमा ३ हजार ९ सय ३७ रुपैयाँ ५० पैसा छुट पाइन्छ । सो छुट रकम घटाउँद बीमाशुल्कवापत ११ हजार ८ सय १२ रुपैयाँ मात्रै तिर्नुपर्छ । त्यसमा डाइरेक्ट डिस्काउन्ट (कम्पनीमा स्वयं उपस्थित भएर गरिने बीमा) बापत १० प्रतिशत छुट पाइन्छ । ११ हजार ८ सय १२ रुपैयाँको १० प्रतिशत अर्थात् १ हजार १ सय ८१ गदा १० हजार ६ सय ३१ रुपैयाँ ३० पैसा बीमाशुल्क वापत नै तिर्नुपर्छ ।

तर मोटरसाइकल वा अरु कुनै पनि सवारीसाधनको बीमा यति मै सीमित हुँदैन । त्यस्तो सवारी साधनको क्षमता अनुसारको तेस्रोपक्ष बीमा पनि गर्नुपर्ने हुन्छ । अहिले १ सय ५० सीसीसम्मको मोटरसाइकलको तेस्रोपक्ष बीमा १ हजार ५ सय रुपैयाँमा १३ प्रतिशत भ्याट जोडी १ हजार ६ सय ९५ रुपैयाँ तिर्नुपर्छ ।

१ सय ५० सीसीदेखि २ सय ५० सीसीसम्मका लागि भ्याट रकमबाहेक १ हजार ७ सय रुपैयाँ तिर्नुपर्छ । अर्थात्, २२० सीसीको पल्सर मोटरसाइकलको तेस्रोपक्ष बीमा गर्दा तपाइँले १ हजार ७ सय रुपैयाँ खुद बीमाशुल्क तिर्नुपर्छ । उक्त रकममा २० वा ३० रुपैयाँको टिकटको मूल्य थप लाग्छ ।

बीमाशुल्क यी दुई कुरामा मात्रै सकिँदैन । तपाईंले जोखिम समूह थप गरेबापत पनि थप शुल्क तिनुपर्छ । हुलदङ्गा, हडताल र रिसिइबीपूर्ण कार्यबाट मोटरसाइकलमा क्षति भएको खण्डमा दाबी गर्नु परेमा घोषित मूल्यमा ०.०१० प्रतिशत रकम तिर्नुपर्छ । त्यो भनेको ३ लाख १५ हजारको ०.०१० प्रतिशत अर्थात् ३ सय १५ रुपैयाँ हो ।

त्यस्तै, आतंककारी तथा विध्वंसात्मक कार्य घोषित मूल्यको ०.०५ प्रतिशत रकम तिर्नुपर्छ । त्यो भनेको १ सय ५७ रुपैयाँ ५० पैसा हुन आउँछ ।

चालक तथा चालकको पछाडि बस्ने एक व्यक्तिको ५–५ लाखको गरी १० लाखको बीमा गर्दा लाग्ने शुल्क ०.०२५ प्रतिशत रकम लिँदा थप २ सय ५० रुपैयाँ बीमा कम्पनीलाई बुझाउनुपर्छ ।

अहिले नेको इन्स्योरेन्समा एउटा २ सय २० सीसीको पल्सर मोटरसाइकलको बीमा गर्दा छुटपछिको खुद बीमाशुल्क वापत १० हजार ६ सय ३१ रुपैयाँ ५० पैसा, तेस्रोपक्ष बीमावापत १ हजार ७ सय रुपैयाँ, हुलदङ्गा, प्रतिआतंकवाद र चालक तथा चालकको पछाडि बस्ने व्यक्तिको बीमा शुल्कवापत ७ सय २२ रुपैयाँ ५० पैसा तिर्नुपर्छ । यी सबै शुल्क जोड्दा १३ हजार ५४ रुपैयाँ हुन आउँछ ।

अब यो शुल्कमा पनि राज्यले कर लिन्छ । यी सबै शुल्कमा १३ प्रतिशत भ्याट जोड्दा एक ग्राहकले आफ्नो २ सय २० सीसीको मोटरसाइकलको बीमा गराउँदा १४ हजार ७ सय ५१ रुपैयाँ शुल्क तिर्नुपर्ने देखिएको छ । 

नेकोमा १४ हजार ७ सय, अरुमा साढे ६ हजार !

अहिले नेको इन्सुरेन्सले मोटरसाइकलको बीमा शुल्कमा व्यापक वृद्धि गरेर ५ प्रतिशत प्रिमियम पुर्यायो । तर अरु अधिकांश बीमा कम्पनीहरुले भने मोटरसाइकलको बीमा गर्दा १.५ प्रतिशत मात्रै शुल्क लिने गरेका छन् ।

यसरी हेर्दा यही २ सय २० सीसीको पल्सर मोटरसाइकलको बीमा गर्दा नेको इन्स्योरेन्समा सबै छुट घटाउँदा समेत करिब १५ हजार पर्नेमा अन्य बीमा कम्पनीमा भने करिब ६ हजार ३ सय रुपैयाँमै बीमा हुन्छ ।

रातोपाटीले अन्य तीनवटा बीमा कम्पनीमा २ सय २० सीसीको नयाँ पल्सर मोटरसाइलको ‘फूल इन्सुरेन्स’को शुल्क सोधेको थियो । जसमा ती कम्पनीहरुले  ६ हजार ३ सय ७५ रुपैयाँ, ६ हजार ६ सय १० रुपैयाँ र ६ हजार ७ सय रुपैयाँमा बीमा हुने बताएका थिए ।

रिस्क बढेकाले मूल्य बढायौँ : नेको इन्स्योरेन्स

वर्षौदेखि नेको इन्स्योरेन्समै बीमा गराइरहेका ग्राहकलाई एकाएक महङ्गो बीमाशुल्क तिर्न बाध्य बनाएपछि यसको कारण के हो भनेर हामीले नेको इन्सुरेन्सका सिइओ अशोककुमार खड्कालाई सोध्यौँ । उनले रिस्क बढेकाले प्रिमियम रकम थप गर्नुपरेको बताए ।

सिइओ खड्काका अनुसार नेको इन्स्योरेन्सलाई मोटरसाइकलको बीमामा घाटा भएको रहेछ । गत वर्षमा करिब ६ करोडको बीमाशुल्क आर्जन गरेको कम्पनीले बीमा दाबीवापत नै करिब ८ करोड रुपैयाँ तिरेको खड्काले बताए । उनले भने, ‘गतवर्ष हामीले मोटरसाइकलको बीमावापत करिब ६ करोड रुपैयाँ आर्जन गर्यौँ । तर मोटरसाइकलको बीमा भुक्तानीवापत हामीले करिब ८ करोड रुपैयाँ तिर्यौँ । त्यसकारण हामी बीमाशुल्क बढाउन बाध्य भयौँ ।’

अन्य बीमा कम्पनीले त बढाएका छैनन् नि त भन्ने प्रश्नमा अन्य बीमा कम्पनीको कुरा आफूलाई थाहा नहुने बताए । नेको इन्स्योरेन्सले वार्षिक करिब ४० हजार वटा मोटरसाइकलको बीमा गराउने गरेको समेत उनले बताए । तर मोटरसाइकल अत्यधिक चोरी हुन थालेपछि रिस्क म्यानेजमेन्ट गर्न बाध्य भएर प्रिमियम बढाएको खड्काले बताए ।

खड्काका अनुसार अहिले नेको इन्स्योरेन्सले ग्राहकलाई जानकारी दिएर नै प्रिमियमको शुल्क बढाउने वा पहिले नै लिएको शुल्क लिएर दाबी गर्दा २५ प्रतिशतसम्म कम मात्रै लिने विकल्प दिएको छ । त्यसो गर्दा पुरानो ग्राहकले पहिलेकै मूल्य पनि तिर्न त सक्नेछन् । तर, यदि मोटरसाइकल हरायो वा चोरी भयो भनेर बीमा दाबी गर्दा भने अवस्था हेरेर २५ देखि ३३ प्रतिशतसम्म कम रकम पाउनेछन् ।

बीमा समिति भन्छ, ‘उजुरी आए छानबिन हुन्छ’

मोटरसाइकल बीमाका लागि बीमा समितिले तोकेको प्रिमियम १.५ प्रतिशत मात्रै हो । तर केही इन्स्योरेन्स कम्पनीले भने ५ प्रतिशतसम्मको प्रिमियम लिएर बीमा गराइरहेका छन् । यस सम्बन्धमा के प्रिमियमका नाममा जति शुल्क पनि बढाउन पाउने हो भनेर बीमा समितिका अध्यक्ष चिरञ्जिीवी चापागाइँलाई सोध्दा उनले सैद्धान्तिक कुरा मात्रै गर्ने बताए ।

उनले भने, ‘बीमा समितिले तोकेको प्रिमियमको शुल्क १ दशमलव ५ प्रतिशत मात्रै हो । तर कसैले ५ प्रतिशत लियो भने किन लिएको रहेछ हामी बुझ्छौँ । प्रिमियमको शुल्क बढाउनुको कारण पनि त होला, ग्राहकको उजुरी आएमा हामीलाई सहज हुन्छ । उजुरी दिन भन्नुहोस्, हामी छानबिन गर्छौँ ।’

व्यक्ति हेरेर छुट, मिडियामा जान्छौँ भनेपछि नयाँ प्रस्ताव

नेको इन्सुरेन्सले लिने शुल्कमा ग्राहक अनुसार एकरुपता छैन । गतवर्ष ५ हजार २ सय ३७ रुपैयाँ शुल्क तिरेर ‘फुल इन्सुरेन्स’ गराएका ग्राहकले अहिले घोषित मूल्य घटाउँदा र नो क्लेम डिस्काउन्ट पाउँदा करिब ४ हजार ५ सय रुपैयाँमै इन्स्योरेन्स हुनुपर्ने हो । तर यसवर्ष ती ग्राहकलाई ८ हजार रुपैयाँ शुल्क लाग्ने बताएपछि उनले लिखितरुपमा नवीकरणको सूचना दिन भने ।

तर इन्स्योरेन्सले ती ग्राहकलाई नवीकरण लिखित सूचना दिएन । धेरै समय ‘बार्गेनिङ’ गरेपछि उनलाई ४ हजार ५ सय ५४ रुपैयाँमै इन्स्योरेन्स गरिदिने बतायो । तर, उनको मोटरसाइकल चोरी भएको अवस्थामा भने उनले बीमा गरेको रकमको २५ प्रतिशत रकम छाड्नु पर्नेगरी नवीकरणको सूचना दिइयो । तर ती ग्राहकलाई नेको इन्सुरेन्सको प्रस्ताव चित्त नबुझेपछि उनी ‘नो क्लेम’को पेपर लिएर जम्मा ४ हजार ५ सय रुपैयाँमा अर्कै कम्पनीमा आफ्नो मोटरसाइकलको फुल इन्योरेन्स गराए ।

यद्यपि नेको इन्सुरेन्सले केही व्यक्तिलाई भने न्युनतम प्रिमियम नै राखेर बीमा गर्दै आएको त्यहीँ कार्यरत एक कर्मचारीले बताए । उनले भने, ‘यहाँ आफ्नो मान्छे भयो भने १.५ प्रतिशत प्रिमियममै पनि बीमा हुन्छ । आफ्नो मान्छे छैन भने ५ प्रतिशत प्रिमियम तिर्नुपर्छ ।’

Advertisement

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार

Advertisement

नेपालन्युज प्रालिद्वारा प्रकाशित

महाप्रवन्धक- बिमल गुरुङ

कार्यकारी सम्पादक- कर्णराज पाण्डे


सूचना विभाग दर्ता नं. १५०५/०७६–७७