बिहिबार, साउन १४, २०७८ / Jul 29, 2021
Loading...

नेपाली कांग्रेसमा इन्टर्नल डेमोक्रेसी हुने कि नहुने महाधिवेशनमा निर्क्योल हुन्छ

Advertisement
नेपाली कांग्रेसमा इन्टर्नल डेमोक्रेसी हुने कि नहुने महाधिवेशनमा निर्क्योल हुन्छ
Advertisement

नेपाली कांग्रेस आगामी फागुनमा हुने भनिएको चौधौँ महाविधेनको तयारीमा केन्द्रित छ । नेताहरू आआफ्नो समूहमा र व्यक्तिगतरूपमा महाधिवेशनकै रणनीतिअनुसार चल्न थालेका छन् । महाधिवेशनका विषयमा पार्टीभित्र मतभेदहरू पनि देखिन थालेका छन् । यता नेपाली कांग्रेसको विपक्षी भूमिकामा पनि प्रश्न उठ्ने गरेको छ । यस्तै प्रसङ्गहरूको सेरोफेरोमा खबरहबका एकराज बास्तोला र गोविन्द लुइँटेलले कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालासँग कुरा गरेका छन् ।

नेपाली कांग्रेस चौधौँ महाधिवेशनको तयारीमा छमहाधिवेशन हुन करिब साढे ६ महिना बाँकी छकस्तो चल्दै तयारी ?

केन्द्रीय समितिले वडादेखि केन्द्रसम्मको अधिवेशनको मिति तोकेको छ । के के काम गर्ने भनेर पनि निर्णय गरेको छ । समायोजनको काम गर्नुपर्ने छ । समायोजन एउटा पार्टीसँग मात्रै छैन, धेरैवटा छन् । हाम्रै पार्टीको पनि २४० क्षेत्रबाट १६५ मा समायोजन गर्नु छ । नेपाली कांग्रेसको सबैभन्दा ठूलो अप्ठ्यारो चाहिँ क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणमा छ । जिल्ला जिल्लामा समस्या छ ।

उदाहरणका लागि, प्युठानमा साढे दुई वर्षमा ६ हजार जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । एक–डेढ हजार त मैले नै प्रवेश गराएको छु । अब त्यहाँ कति जनालाई क्रियाशील सदस्यता दिन सकिन्छ, हामीले अहिले भइरहेको सदस्यता ५० प्रतिशतले बढाउने भनेका छौँ । यसको निर्क्योल गर्नुपर्‍यो । यस्तै कुराले समय लिइराखेको छ ।

प्रक्रिया त सुरु भएको छ तर कोभिड–१९ ले केही समस्या पारेको छ । यसबाहेक अरू समस्याहरू पनि देखिराखेको छु ।

अरू कस्ता समस्या ?

महाधिवेशको मिति तोकिएको छ । वडादेखि सबै तहका अधिवेशनहरू तोकिएका छन् । यता केन्द्रमा विधानअनुसार ६ महिनाभित्रमा सकिनुपर्ने काम सभापतिजीले अहिले गरिरहनुभएको छ । विभागहरूलाई पूर्णता दिन थाल्नुभएको छ । भ्रातृ संस्थाहरू लथालिङ्ग छन् । समायोजनमा निर्वाचन समितिले जिल्लाबाट आएका रिपोर्टहरू खोलेर हेरेको छैन । विवादहरू सोझै केन्द्रीय समितिमा पठाइदिएको छ । रिपोर्ट त हेर्नुपर्‍यो नि ! निर्वाचन समिति किन बनाएको ! विवाद भएको ठाउँमा निष्पक्ष ढङ्गले काम गर्न भनेर बनाएको हो नि निर्वाचन समिति । त्यहाँ कामै भएको छैन । यस्ता कुराहरूले अप्ठ्यारो पारेको छ ।

यसको अर्थनिर्वाचन समितिले आफ्नो जिम्मेवारी पूरा गरेन भन्ने हो ?

धेरै ठाउँमा उहाँहरूले (निर्वाचन समितिले) काम गर्नुभएको छ तर जहाँ जहाँ अप्ठ्यारो  छ,  सबै केन्द्रीय समितिलाई जिम्मा लगाउने होइन नि ! उहाँहरूले जसलाई जिल्लामा कामका लागि पठाउनुभएको छ, रिपोर्ट आएको छ तर रिपोर्ट पनि राम्ररी नहेर्ने ! विवाद मिलाउन कुनै प्रयास नगर्ने र केन्द्रीय समितिलाई जिम्मा लगाउने !

अर्थातनिर्वाचन समितिले आफ्नै अधिकार पनि प्रयोग गरेन भन्ने कुरा हो ?

हो, कुरा यही हो । यस्तो अवस्थाले त समस्या झन् झन् बढ्दै जान्छ ।

समायोजनक्रियाशील सदस्यता नवीकरण र वितरण तथा सबै तल्ला तहका अधिवेशनहरू सकेर निर्धारित मिति फागुन ७ मा महाधिवेशन हुन्छ भन्ने कुरामा कति विश्वस्त हुनुहुन्छ ?

समायोजन एघार जिल्लामा बाँकी छ, दुई नम्बर प्रदेशका त करिब सबै जिल्लामा बाँकी छ । समायोजन पूरा नभई अधिवेशन हुँदैन । क्रियाशील सदस्यता नवीकरण र वितरणमा सभापतिले अन्य पार्टीबाट आएकाहरूलाई मनपर्दी ढङ्गले दिनेगरी निर्णय गर्नुभएको छ । यो विषय सभापतिजीले केन्द्रीय समितिमा ल्याउनुभएको छैन ।

हामीले विजय गच्छदारजीको पार्टी समायोजनका लागि उपसभापति विमलेन्द्र निधिजीको संयोजकत्वमा एउटा समिति बनाएका थियौँ । समितिले आफ्नो काम गर्दै होला तर गच्छदारजीको पार्टीपछि अरू धेरै पार्टीहरू नेपाली कांग्रेसमा आएका छन् । सभापतिजीले सबैलाई क्रियाशील सदस्यता दिन खोज्नुभएको छ तर यसबारेमा उहाँले केन्द्रीय समितिमा छलफल गराउनुभएको छैन । हामीलाई थाहै छैन । यस्ता विषयले केन्द्रीय समितिमा प्रवेश नै पाएको छैन ।

विजय गच्छदारजीको पार्टी आउँदा विजयजीलाई कुन पद दिने, कति जना केन्द्रीय सदस्य दिने भन्ने निर्णय भएको थियो । त्यसपछि त सभापतिजीले के के गर्नुभएको छ, केही थाहा छैन । उहाँले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिरबाट निर्णयहरू गरिरहनुभएको छ । नभएको अधिकार प्रयोग गरिरहनुभएको छ ।

वडादेखि सबै तहको अधिवेशन समयमा हुन सकेन भने त फागुनमा महाधिवशेन हुन कठिन हुन्छ । उहाँहरू (सभापतिको पक्ष) ले केही अनियमितता गर्दा गर्दै पनि फागुनमै महाधिवेशन होस् भन्ने म चाहन्छु ।

भ्रातृ संस्था, जनसम्पर्क समितिहरू, शुभेच्छुक संस्थाहरूबाट पनि महाविधेशन प्रतिनिधिहरू हुने व्यवस्था छ । यस्ता संस्थाहरूको अधिवेशन भएको छैन भने महाधिवेशन प्रतिनिधि पनि पठाउन पाउँदैन भन्ने प्रष्ट व्यवस्था छ विधानमा ।

यसमा पनि उहाँहरू (सभापतिको पक्ष) अड्चन लगाउन खोज्दै हुनुहुन्छ । समयमा महाधिवेशन गराउनुहुन्न तर महाधिवेशन प्रतिनिधि ल्याउन खोज्नुहुन्छ ।

सभापतिजी यति अनडेमोक्रटिक (अप्रजातान्त्रिक) तरिकाले चल्नुभएको छ । सात वर्ष भयो दलित संघको अधिवेशन नभएको । तरुण दल र नेवि संघ तदर्थ समितिमा चल्दैछन् । धेरै जनसम्पर्क समितिहरू तदर्थ समितिमा चल्दैछन् । प्रेस युनियन र प्राध्यापक संघको हालत उस्तै छ । अधिवेशन भएको छैन ।

जुन जुनको अधिवेशन भएको छैन त्यहाँबाट महाधिवेशन प्रतिनिधि ल्याउन पाउनुहुन्न । म कति भोट पाउँछु वा अर्कोले कति पाउँछ भन्ने होइन । अनडेमोक्रेटिक ढङ्गले चल्न पाइँदैन भन्ने कुरा मुख्य हो ।

हामी कम्युनिष्टहरू अलोकतान्त्रिक तरिकाले चल्छन् भन्छौँ अनि हाम्रो पार्टीभित्र सभापतिले अलोकतान्त्रिक तरिकाले काम गर्ने ! कांग्रेसमा यस्तो अलोकतान्त्रिक तरिका हामीलाई स्वीकार्य हुँदैन ।

यसो हो भने त धेरै भ्रातृ संस्थाबाट महाधिवेशन प्रतिनिधि आउँदैनन्होइन ?

जुन संस्थाको अधिवेशन भएको छैन, तीबाट प्रतिनिधि ल्याउन पाउनुहुन्न । हामी त्यसरी ल्याउन दिँदैनौँ । उहाँहरू अधिवेशन नगराई महाधिवेशन प्रतिनिधि ल्याउन चाहिरहनुभएको छ, किनभने ती संगठनमा उहाँ (सभापति) कै मान्छेहरू अध्यक्ष छन् । त्यसरी महाधिवेशन प्रतिनिधि ल्याउनु गलत हो । हामी पनि हेर्छौं नि कसरी ल्याउनुहुन्छ !

पार्टीको आन्तरिक कुराबाहेकफागुनमा महाधिवेशन हुन नसक्ने गरी कोभिड१९ वा काबुबाहिरको यस्तै कुनै चुनौती देख्नुभएको छ ?

कोभिड–१९ एउटा चुनौती हुनसक्छ । यसबाहेक त पार्टीभित्रै समस्या छ । मुख्य समस्या क्रियाशील सदस्यताकै हो । रसुवामा एउटा पार्टीको एउटा पक्ष नै आएको छ । अब उहाँहरू (सभापति पक्ष) ले त्यहाँको जिल्ला समितिभन्दा केही कमलाई जिल्ला समितिमा राख्ने भन्नुभएको छ । नेपाली कांग्रेसका लागि योभन्दा दुर्भाग्य केही हुन्छ ! कांग्रेसका पुराना मान्छे पन्छिँदै जाने, अनि नयाँ मान्छेले नेपाली कांग्रेसलाई बनाउन सक्छ ?

उहाँहरू (नवप्रवेशी) लाई सम्मान गर्नुपर्छ तर पुरानालाई पन्छाउन पाइँदैन । र्‍यान्डम क्रियाशील सदस्यता दिने भन्नुभएको छ, कतै एक हजारलाई, कतै दुई हजारलाई । यस्तो गलत निर्णय गर्नुभएको छ । हामी यसको विरोध गर्छौं । यस्तै केही कारणले महाधिवेशन ढिलो हुन सक्छ कि भन्ने पनि छ । तर, यसले ढिलो हुनु हुँदैन ।

कोभिड–१९ एउटा कारण हुन सक्छ तर यसमा पनि उपाय हुनसक्छ । काठमाडौंमै महाधिवेशन हुनुपर्छ भन्ने पक्षको मान्छे म होइन । कांग्रेसको इतिहास छ, २०१४ सालसम्म जिल्ला जिल्लामा हुन्थ्यो, केन्द्रमा रिजल्ट सुनाइन्थ्यो । आजकाल त अनलाइन भोटिङको पनि सुविधा छ । निर्धारित मितिमै महाधिवेशन गर्न सक्ने धेरै उपायहरू हुन सक्छन् । देशभरिबाट काठमाडौंमै भेला हुनुपर्छ भन्ने छैन ।

प्रेस युनियनमै यस्तै नयाँ तरिका गरे त हुन्थ्यो नि ! अरू सङ्गठनको पनि गरे हुन्छ तर उहाँहरू (सभापतिको पक्ष) को रुचि नै छैन । अधिवेशन गराउन चाहनुहुन्न । अधिवेशनबाट कस्तो मान्छे आउने हो, आफ्नो पक्षको नआउने हो कि भन्ने छ । सभापतिजी र उहाँको कोटरीलाई चुनावसँग डर छ ।

सभापति शेरबहादुर देउवा विभागहरू धमाधम गठन गर्दै हुनुहुन्छ । महामन्त्री शशांक कोइराला र वरिष्ठ नेता रामचन्द्र पौडेलसहितले विरोधपत्र नै बुझाउनुभएको छविभाग गठनमा किन विरोध ?

पहिलेको विधानमा महाधिवेशन भएको दुई महिनाभित्र विभाग गठन गरिसक्नुपर्छ भन्ने थियो । अहिले ६ महिनाभित्र गर्ने भनिएको छ तर उहाँ (सभापति) त साढे चार वर्ष सुतेर बस्नुभयो । यति वेला विभाग बनाउनु भनेको त दिवालियापन हो भन्छु म त । अब ६ महिनाका लागि किन बनाउने ! जति बनाइसक्नु भयो भइगयो, अब नबनाउनुहोस् । हामीले पत्रकार सम्मलेन पनि गर्‍यौँ । रामचन्द्रजीले जो जो साथीहरू विभागमा पर्नुभएको छ, छोडिदिनुस् भन्नुभयो । उहाँहरूले काम गर्न त पाउनुहुन्न । नेपाली कांग्रेसका साथीहरूले विवेक प्रयोग गर्नुपर्छ । म साथीहरूलाई विवेक प्रयोग गर्न भन्छु ।

सुशील कोइरालाको पालामा विभागमा यस्तै अप्ठ्यारो भएको थियो । चार वर्षको कार्यकालमा उहाँले दुई वर्षमा विभागहरू बनाउन थाल्नुभयो । शेरबहादुरजीले विरोध गर्नुभयो, केन्द्रीय समितिमा सहभागी हुनुभएन, शेरबहादुरजी र उहाँको ग्रुप । सुशीलजीलाई लाग्यो होला, समयमा गर्न सकिएन, कांग्रेसलाई एक ढिक्का राख्नैपर्छ, अनि उहाँले विभागहरू बन्द गर्नुभयो, गठन गर्नुभएन ।

आज शेरबहादुरजी त्यही ठाउँमा हुनुहुन्छ र गलत काम गर्दै हुनुहुन्छ । शेरबहादुरजीले यस्तो अलोकतान्त्रिक काम गर्न मिल्छ ! उहाँ (शेरबहादुर देउवा) र उहाँको कोटरी जति अनडेमोक्रेटिक कोही हुँदैन ।

अनि कम्युनिष्टलाई तिमी अलोकतान्त्रिक छौ भनेर, अरूलाई लोकतन्त्र सिकाउने ! पहिला आफ्नो संस्कार लोकतान्त्रिक हुनुपर्‍यो नि ! यो त राजनीतिक संस्कारै नभएको भयो नि त ! कांग्रेसको नेतृत्व नै लोकतान्त्रिक भएन भने कांग्रेसले अरूलाई लोकतन्त्र सिकाउन सक्दैन ।

नेपाली कांग्रेसमा अहिले सभापति शेरबहादुर देउवाको समूह र अर्को तपाईंहरूकोरामचन्द्र पौडेल र कोइरालाहरूसहितदुई वटा समूह र कृष्णप्रसाद सिटौलाको अर्को समूह सक्रिय छन्अन्य ससाना गुटहरू पनि होलान् । चौधौँ महाधिवेशनमा नेतृत्वका लागि कति समूहको प्रतिस्पर्धा होला ?

यो अहिले भन्न गाह्रो छ । तीन वटा समूह त तपाईंले नै भनिहाल्नुभयो । इच्छा, आकांक्षा राख्नेमान्छे धेरै हुन्छन् । यो सामान्य कुरा हो । विधानमा प्रष्टै छ, सभापति निर्वाचित हुन कम्तीमा ५१ प्रतिशत मत ल्याउनुपर्छ । रामचन्द्रजीको समूह  अर्थात हामी सभापतिजीको गलत क्रियाकलापको विरोध गर्दै क्लोज कन्ट्याक्ट (निकट सम्पर्क) मा छौँ । एक आपसमा कुरा गरिरहेका छौँ । हामी मिलाएरै अगाडि जान्छौँ ।

Advertisement

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ?

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

सम्बन्धित समाचार

Advertisement

नेपालन्युज प्रालिद्वारा प्रकाशित

महाप्रवन्धक- बिमल गुरुङ

कार्यकारी सम्पादक- कर्णराज पाण्डे


सूचना विभाग दर्ता नं. १५०५/०७६–७७